सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड र आगजनी

जगत ठाडा मगर
२०७८ पुस ११ | मध्यान्ह ०२:०९ बजे

सिरहा । सिराहामा किसान पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् भने केहीबेर प्रहरी र बन्दकर्ताबीच झडप पनि भएको थियो । सिरहाको औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा उनीहरु उत्रिएका हुन् ।
सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियाे । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
त्यसकाे विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको थियाे । गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये एक जनालाई पक्राउ गरेको छ ।






















