माओवादी केन्द्रका नेता पुन पार्टीको राष्ट्रिय महाधिवेशनमा अनुपस्थित हुने

जगत ठाडा मगर
२०७८ पुस १० | मध्यान्ह ०९:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पार्टीको राष्ट्रिय महाधिवेशनमा अनुपस्थित हुने भएका छन् । जन्डिसबाट ग्रसित भएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् ।
थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि केही सातायता उनलाई चीन लगिएको थियो । अहिले स्वास्थ्यमा सुधार आएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
पुनसँगै उनकी पत्नी तथा पुर्वसभामुख ओनसरी घर्तीमगर पनि अनुपस्थित रहने छन् । वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।






















