प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीलाई भेट्न बालकोटमै जानुपर्ने प्रचण्डकाे प्रस्ताव


काठमाडौं, पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीलाई भेट्न बालकोटमै जाने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका बताएका छन्।
संसदको गतिरोध अन्त्य गर्नेदेखि लिएर अन्य विविध विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित रहेको सन्दर्भमा आफुले ओली निवास बालकोट नै जानुपर्ने प्रस्ताव अघि सारेको बताएका छन्।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (शनिबार) ललितपुरको हिमालय होटलमा सम्पादकहरुसँग छलफल गर्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई उहाँ (ओली) आउनुहुन्न, तपाईं र म नै बालकोट जाऔं भनेको छु ।’ प्रधानमन्त्री देउवाले पनि महाधिवेशनपछि जाऔंला भनेको हुँदा आवश्यक परे ओली निवासमा जाने उनले बताए।
ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भनेर आग्रह गर्ने र अरु विषय पनि छलफल गर्ने प्रस्ताव आफूले राखेको उनले बताए। एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। प्रधानमन्त्री देउवाले दुईपटक सर्वदलीय बैठक बोलाए पनि एमालेले बहिष्कार गरेको थियो। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमाले उपस्थित भएन ।






















