देश

उदयपुरमा दशकअघिदेखि फरार अभियुक्तहरु धमाधम पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १० | मध्यान्ह ०३:०९ बजे

उदयपुर । उदयपुर प्रहरीले दशकअघिदेखि फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी राखेको छ। बिभिन्न आपराधिक क्रियाकलामा संलग्न भई अदालतले दोषी करार गर्दै कैद र जरिवानाको सजाय सुनाए पनि भाग्दै आएका दर्जन अभियुक्तलाई खोजविनको क्रममा घर वतनबाटै पक्राउ गर्ने गरेको छ।

प्रहरीले गत बिहीबार र शुक्रबार मात्र ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वन मुद्दाका अभियुक्तहरु सदरमुकाम त्रियुगा नगरपालिका ५ का ३३ वर्षीय सरोज खत्री र सोही ठाउँका ३० वर्षीय भूपध्वज विक रहेका छन्। खत्रीलाई जिल्ला अदालत उदयपुरले ०६९ असार १२ गतेको फैसला अनुसार दोषी ठहर्याएको हो भने विक ०६९ जेठ १ गतेको फैसला अनुसार सजायका भागीदार हुन्। दुवैलाई १/१ वर्ष कैद सजायको फैसला अदालतले सुनाएको छ । त्यसैगरी वन मुद्दाकै अभियोगमा त्रियुगा नगरपालिका २ खैजनपुरका ३ महिलासहित ६ जना एक दिनअघि मात्र पक्राउ परेका थिए। उनीहरुलाई जिल्ला अदालत उदयपुरले ०६९ साल असार १२ गते भदौ १९ गतेको इजालसले दोषी प्रमाणित गरेको हो। जनही जनही १ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ जरिवानाको फैसला भए पनि भाग्दै आएका उनीहरु जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले घरघरबाटै नियन्त्रणमा परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराका अनुसार एउटै प्रकृतिको मुद्दामा एकै दिन एउटै गाउँका अभियुक्तहरुमा ३३ वर्षीय वीरेन चौधरी, ३३ वर्षकै राजिन चौधरी, ३० वर्षीय दिलिप चौधरी, ३५ वर्षीया रीता चौधरी, ३२ वर्षीया पवित्रा चौधरी र ३४ वर्षीया दुर्गा चौधरी छन्। उनीहरु एकै दिन, एउटै प्रकृतिको मुद्दा परेर अदालतले एकै दिनको फैसला अनुसार अभियुक्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वन मुद्दाकै अभियोगमा उदयपुरगढी गाउँपालिका ७ का भक्तवहादुर खड्का पनि शुक्रबारै पक्राउ परेका छन्। उनलाई अदालतको ०७४ फागुन १५ गतेको फैसलामा दोषी करार गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी लागूऔषध अपराधमा अदालतले ०७७ फागुन २३ गतेको फैसला अनुसार सजायको भागीदार बनाए पनि फरार रहेका बेलका नगरपालिका ९ का २५ वर्षीय कृष्णबहादुर राई र लागूऔषध अभियुक्त १९ वर्षीय अशोक राई पनि पक्राउ परेका छन्। कृष्णबहादुरलाई १ वर्ष ६ महिना र भक्तबहादुरलाई १० महिना कैद सजाय अदालतले तोकेको छ।

कमेन्टहरु