देश

एसएसपी यादव मृत्युु प्रकरण : घटनास्थलमा पत्रकारलाई प्रवेश निषेध

जगत ठाडा मगर
२०७८ पुस १० | बिहान १०:०९ बजे

दीपक घिमिरे
भैरहवा । संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशील कुमार यादवको मृत्युपछि त्यहाँ कार्यालयमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।

प्रहरीले पत्रकारहरुलाई कार्यालय प्रवेशमा निषेध किन गरेको यस विषयमा आधिकारिक रुपमा केही खुलाएको छैन । रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहरुसंग पत्रकारहरुलाई भौतिक रुपमा भेटघाट गर्न दिएको छैन । प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्तसहित सर्वसाधारण, व्यवसायी लगायतलाई कार्यालयमा प्रवेश गराएपनि पत्रकारलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन खोजेको हो की भन्दै आशंका उब्जिएको पत्रकार राधेश्याम बिश्वकर्माले बताउनु भयो ।

‘हाम्रो कार्यालय भएपनि हामीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएका होईनौँ, संघीय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेमबहादुर केसीले भन्नुभयो, ‘अनुसन्धानको विषय भएकोले सबै काम जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरिरहेको छ । यस विषयमा हामीले केही गरेका छैनौँ ।’कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिनु भएको छ । शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

कमेन्टहरु