धनुषाबाट १४ महिनाको बालक अपहरण गर्ने भारतीय युवक पक्राउ


जनकपुरधाम, ०९ पुस । धनुषामा १४ वर्षीय बालकलाई अपहरण गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नम्वर १० घर भई जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर १६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बुधवार साँझ करिब ७ बजे देखि जनकपुरधाम उपमहानगरपलिका वडा नम्वर १७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारत तर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ठाकुरलाई बिहिवार अपरान्ह करिब ४ बजे नगराईन नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको प्रवक्ता बस्नेतले जानकारी दिए ।






















