राजनीतिक यात्राबाट विश्राम लिएको छैन, मेरो यात्रा जारी छ : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका छन् । १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताए।
पौडेलको बधाई सन्देश उल्लेख छ ‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगे। त्यस निर्णयप्रति इमानदार रहन मतदानबाट अलग रहे ।’
उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट आफु विचलित नहुने बताए । ‘युवा शक्तिलाई समेत एकताको सूत्रमा बाँधेर पार्टीमा नयाँ उत्साहको सञ्चार गराउने मेरो उद्देश्य रहेको हो’ पौडेलले भनेका छन् । ‘प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै मैले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको हुँ ।’























