रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु


कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती १२ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर ट्रकमा ठोक्किदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए ।
त्यसलगत्तै उनीहरुको उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको हो । मृतकको शव अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।






















