लमजुङमा सवारी ज्यान मुद्दाका फरार प्रतिबादी ६ वर्षपछि पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ८ | बिहान १०:०९ बजे

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मा रहेको प्रहरीले बताएको छ ।
रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले बेँसीशहर नगरपालिका ८ बाट बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
रुकेशले चलाएको बसले २०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको थियो । रुकेश उपर २०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए।
पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ।






















