दुवै छिमेकी मुलुकबाट भएको भ्रमणमा के सन्देश दियो नेपालले ?


काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीनका तर्फबाट हालै भएका नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध र वैश्विक कुटनीतिक ध्रुवीकरणमा कस्तो प्रभाव पार्ला भन्नेबारे टीकाटिप्पणी भइरहेको छ ।
कुटनीतिक मामिलाका ज्ञाताहरु अन्तर्राष्ट्रियस्तरमा चीनको पक्ष र विपक्षमा भइरहेको घेराबन्दी वा ध्रुवीकरण मत्थर हुँदै जाने संकेत देखिएकै समयमा चीन र भारतबाट नेपालमा भएका कुटनीतिक र सैन्य तहका भ्रमणले भू–राजनीतिक महत्वलाई अझ बढाएको चर्चा गर्दछन् । भारतीय पक्षबाट भएको भ्रमणले केही समय यता देखिएको संवादहीनतालाई अन्त्य गरेको र चिनियाँ पक्षबाट भएको भ्रमणबाट केही समय यताको अविश्वासलाई घटाउन मद्दत गरेको उनीहरुको बुझाइ छ ।
यी भ्रमणमा नेपालको प्रस्तुति कस्तो रह्यो र दुवै मुलुकलाई नेपालले के सन्देश दियो भन्नेबारे प्रस्ट नभए पनि परम्परादेखि निरन्तर अपनाइदैँ आएको असंलग्न परराष्ट्र नीतिमै नेपालले आफ्नो प्रतिबद्धता दोहो¥याएको हुनुपर्ने उनीहरुको भनाइ छ ।
भारतीय विदेशसचिव र चिनियाँ रक्षामन्त्रीको हालैको नेपाल भ्रमणमा नेपालले आफ्नो परराष्ट्र नीतिअनुरुप दुवै छिमेकी मुलुकमात्र होइन, आफ्नो भूभाग कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने र असंलग्न नीतिलाई कुनै पनि हालतमा तलमाथि हुन नदिने प्रतिबद्धता जनाएको हुनुपर्ने उनले बताए ।
‘चीन–भारत सम्बन्ध चिसो बनिरहँदा दुवै मुलुकको बीचमा रहेको नेपालमा त्यसका प्रभाव भित्र्याउन, आफ्ना प्रभाव सजिलो बनाउन, नेपाललाई आफ्नो अहित नहुनेगरी कसरी राख्ने भन्ने सवालमा उनीहरु (भारत–चीन’मा दबाब छ,’ उनले भने, ‘त्यसैले पनि रअ प्रमुख, भारतीय सेना प्रमुख, विदेशसचिवको भ्रमण भयो । भारतका तर्फबाट नेपालमा के भइरहेको छ भनेर पनि अहिले चीनको तर्फबाट भ्रमण भएको हुनुपर्छ ।’
नेपाल अहिले जुन अवस्थामा छ, त्यही अवस्थामा रहेस्, एक चीन नीति र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने परम्परादेखिको प्रतिवद्धतामा कायम रहोस् भन्ने नै चिनियाँ चासो रहेको आफूले बुझेको उनले बताए । ‘चीन र भारतका सम्बन्धमा मात्र होइन, वैश्विक ध्रुवीकरणमा पनि नेपालले अपनाउनुपर्ने नीति भनेकै तटस्थ र असंलग्ताका आधारमा रहनु पर्छ,’ उनले भने, ‘त्यतातिर नै हाम्रा वाणी, व्यवहार केन्द्रित हुनुपर्छ ।’























