Opens in a new tab

देश

अबको सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउछौँ : अर्थमन्त्री शर्मा

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०१:०८ बजे

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले अबको पाँचदेखि सात वर्ष भित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरू उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब त्यहाँबाट समाजवादको आधार तयार हुने बताए ।

‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ ।’ संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउँछौँ । सोही योजना अनुसार अघि बढ्न म सबैमा आग्रह गर्दछु ।’

सो अवसरमा उनले युवाहरूलाई विदेश जान छोडेर जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन आग्रह गरे । यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्यास गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरू आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए ।

दैनिक एक लाख लिटर दूध सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्यसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दूध उत्पादन गर्नको लागि किसानहरूलाई उन्नत जातका भैँसी र गाईहरू लागत सहभागितामा वितरण गरिने जानकारी दिए । आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।

‘समृद्धिको अभियान भनेको सबभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नति, उत्पादनमा वृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बढाउनुस् ।’ उनले थपे, ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौँ ।’

यस्तै आफूले प्राथमिक शिक्षा हासिल गरेको मुसिकोट–५ सेरिगाँउस्थित यमुनानन्द नमुना मा.वि मा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरू उद्यमशील हुनुपर्ने बताए । ‘विद्यालयहरू किताब पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशाला सहितको हुनुपर्छ । यसैलाई मध्यनजर गर्दै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको उनले बताए ।

मन्त्री शर्माले सरकारले पहिलो पटक पाँच लाख गरिब र विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरूलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरूलाई मासिक तीन हजारका दरले जीवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरू ल्याएकोले त्यसबाट लाभ लिन लक्षित समुदायलाई आग्रह गरे ।

कमेन्टहरु