Opens in a new tab

यातायात

बाढीपहिरोका कारण आज अवरुद्ध छन् यी सडक

नवलपुर टुडे
२०८३ अशोज १२ | बिहान ०७:०६ बजे

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार पाल्पाको तानसेन-१४, गाईघाट तानसेन सडक खण्डमा पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको टाकुर्चेमा लेदोसहितको पहिरो र पाङदुरडोलमा भिरबाट ढुंगा खस्दा कान्ति लोकपथ सडक खण्ड अवरुद्द भएको छ ।

लमजुङको खरखरे भीरमा बेशीसहर-मनाङ सडक खण्डमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको आँपचौरस्थित मध्यपहाडी लोकमार्गमा पहिरो आई सडक भासिदा पूर्ण रूपमा अवरोध भएको छ ।

स्याङ्जास्थित सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ । पुतलीबजार-१ तिनधारे, सार्वजनिक शौचालय र बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लेदो सहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार तनहुँमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, सर्केगार्ड-१, खच्चामा पहिरो जाँदा हुम्लास्थित कर्णाली करिडोर पुर्ण रुपमा अबरोध भएको छ । नवलपरासी पूर्वमा कालीगण्डकी करीडोरपनि अवरुद्ध छ ।

मुस्ताङस्थित जोमसोम-कोरला सडक-खण्ड अवरुद्ध भएको छ भने दार्चुलामा  महाकाली राजमार्ग पनि अवरुद्ध छ ।

त्यस्तै, म्याग्दीमा बेनी-जोमसोम सडक, मकवानपुरमा, हेटौँडा, भैँसे, भिमफेदी फाखेल, काठमाडौं सडक पनि अवरुद्ध छ ।

यस्तै, तुलसीपुर-घोराही सडक, जोमसोम-कोरोला सडक पनि अवरुद्ध छ । यता काभ्रेस्थित बीपी राजमार्ग, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग तथा मनाङको चामे-बेँसीसहर सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

गुल्मीको सिस्नेभिर-रुद्रबिनी वामीटक्सार सडक, बागलुङस्थित मध्यपहाडी लोकमार्ग, रोल्पास्थित घोराही थवाङ रुकुम सहिदमार्ग तथा कालिकोटमा कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।

त्यस्तै, काभ्रेको अरनिको राजमार्ग, गुल्मीका राजमार्गहरू पनि अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु