बन्दसत्रअघि ओली नेताहरुसँग छलफलमा, भीम रावलसँग पनि छलफल गर्ने


सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि नेताहरूसित छलफल गरिररहेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल थालेका हुन् ।
ओलीले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायत नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । उनले आजको बन्दसत्रअघि अध्यक्षका आकांक्षी भीम रावलसँग पनि छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ । उनले बन्दसत्रमा प्रस्ताव गर्ने केन्द्रीय सदस्यहरूको नामावलीका विषयमा सहमति जुटाउने प्रयास गरेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि विभिन्न पदमा आकांक्षीहरू धेरै हुँदा सहमतिमा सकस भएको हो । हिजो पहिलो दिनको बन्दसत्रमा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार दिइएको थियो । तर, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलले निर्वाचन हुनुपर्ने भन्दै आफ्नो पक्षमा प्रचार प्रसार थालेपछि निर्वाचन हुने कि हुने भन्नेमा अन्योल बढेको छ ।
सहमतिको प्रयासस्वरूप जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र मध्याह्न सवा १२ बजेसम्म सुरु हुन सकेको छैन ।






















