खेलकुद

महिला टी–२० विश्वकप छनोट : युएईसँग निर्णायक खेल आज खेल्दै नेपाल

जगत ठाडा मगर
२०७८ मंसिर १२ | बिहान १०:०८ बजे

काठमाडौँ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार (आज) नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई)) सँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा दिउँसो ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । यस खेलको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

त्यसैले दुवै टोलीका लागि यो निर्णायक खेल हो । घरेलु टोली युएई चार खेलमा अपराजित रहँदै आठ अंक सहित शीर्षस्थानमा छ । उच्च लयमा रहेको युएई नेपाललाई हराउँदै ग्लोबल छनोटमा पुग्ने दाउमा छ । नेपाल पनि अन्तिम खेलमा युएईलाई हार चखाउँदै ग्लोबल छनोटमा स्थान बनाउने योजनामा छ ।

युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटालाई ४७ रन र कुवेतलाई सात विकेटले अपराजित यात्रा कायम राखेको छ । अघिल्ला चार खेलमा तीन जित र एक हार खेपेको नेपाल ६ अंक सहित दोस्रो स्थानमा छ । नेपालालाई युएईविरुद्ध जितले मात्र पुग्नेछैन । रनरेटमा समेत सुधार गर्नुपर्ने भएकोले नेपाललाई फराकिलो जितको आवश्यकता छ ।

नेपालको रनरेट २.०८८ छ भने युएईको २.३९८ छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको थियो । त्यसपछि नेपालले भुटानलाई आठ विकेट, कुवेतलाई नौ विकेट र मलेसियालाई ६ विकेटले हराउँदै ग्लोबल छनोटको सम्भावना कायम जिवित राखेको हो । यसैगरी ६ अंक सहित तेस्रो स्थानमा रहेको हङकङले पनि ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । हङकङको रनरेट ०.४४७ छ ।

हङकङले अन्तिम खेल आइतबार (आजै) कुवेतसँग खेल्दैछ । त्यसैले आजको खेल नेपाल, युएई र हङकङ तीनवटै टोलीका लागि महत्वपूर्ण छ । नेपालले युएईलाई पराजित गरेमा तथा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल, युएई र हङकङको समान आठ अंक हुनेछ । यस्तो अवस्थामा शीर्षटोलीको टुंगो रनरेटले निर्धारण गर्नेछ ।

युएईले नेपाललाई हराएमा स्वत छनोट हुनेछ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो ।

कमेन्टहरु