विद्यालयका संस्थापक प्रधानाध्यापकको स्वर्गारोहण


विनोद मण्डल
सिरहा । सिरहाको विष्णुपुरकट्टी ७ मा रहेको श्री तुलसी राम सत्य भामा माध्यामिक बिद्यालयको बिद्यालय संस्थापक तथा प्रधानाध्यापकको स्वर्गारोहण भएको छ ।
तत्कालीन चर्चित व्यक्तित्व नन्दराज डोटेलको बाहु बलले स्थापित श्री तुलसी राम सत्य भामा माध्यामिक बिद्यालयको स्थापना गरेर एउटा पवित्र र महान कार्यको शुरुवात गरि यहाँका जनताको मुखमा बोली भरेर राज्यका हरेक निकायका लागि असल जनशक्ति निर्माणको रेखा कोर्ने यस विद्यालयको प्रथम प्रधानाध्यापक हरी विनोद जोशी अर्थात् बिन्दु बाबुको निधन भएको हो ।
विक्रम सम्वत २०१७ – २०२४ सालसम्म यस विद्यालयमा प्रधानाध्यापकको भूमिकामा रहँदासम्म विद्यालयमा सुरुवाती अवस्थामा विद्यार्थी उत्पादनमा दिएका योगदानको यस विद्यालयले उच्च कदर गरी हालसम्मका प्रधानाध्यापकको नामावली विद्यालय प्रशासनमा राखेका छन् ।
शिक्षण पेसाबाट अवकास पाएपछि वकील पेसा अपनाएका जोशीको चर्चित नाम बिन्दु बाबु रहेको थियो । सिरहा बजारमा रहेर वकालतको शुरुवात गरेका उनको करिब ९० वर्षको उमेरमा भएको निधनले विद्यालय परिवार यतिबेला शोकमा डुवेको छ भने विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानिय लगायतका बुद्धिजीवी समेतले विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी शोक जनाएका छन् ।






















