ओलीले भाबी राष्ट्रपति बनाउँछु भन्दै फकाएपनि मानेनन्, वरिष्ठ उपाध्यक्षको दाबी नछाड्ने नेम्वाङको अडान


चितवन । चितवनमा जारी एमाले १०औं महाधिवेशनमा नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य रहेका नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका छन् । तर नेम्वाङले ओलीको भनाइ मानिरहेका छैनन्। ओलीले नेम्वाङलाई ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने अवस्था रहेको बताएका छन्।
दुई–दुई पटक पार्टी महासचिव भएको र सिनियर पनि भएकाले पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने अवस्था रहेको ओलीले नेम्वाङलाई बताएका हुन् । एमाले नेताहरूका अनुसार ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंबाट लबिङ गरिरहेकी छिन्।
ओलीले पार्टीले अवसर पाएको खण्डमा नेम्वाङलाई भाबी राष्ट्रपति बनाउने भनेर फकाउदा समेत सुवास नेम्वाङ मानिरहेको छैन । तर राष्ट्रपति भण्डारीसँगै खासै राम्रो सम्बन्ध नभएका नेम्वाङ ईश्वरका लागि बरिष्ठ उपाध्यक्ष छाड्न तयार छैनन्। बरू आफू बरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा नै गर्न तयार रहेको बताइरहेका छन्।






















