राजनीति

महाधिवेशनमा देशका सवारी साधनले बोक्न सक्ने जति जनसहभागिता रहन्छ : अध्यक्ष ओली

जगत ठाडा मगर
२०७८ मंसिर ७ | मध्यान्ह ०३:०८ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति जनसहभागिता हुने बताएका छन् ।

काठमाडौमा मंगलबार सम्पादकहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने जानकारी दिए ।

‘कति छ नेपालका बसहरुको क्यापेसिटी, एक पटकमा उनीहरुले कति बोक्न सक्छन् त्यसअनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं’ उनले भने ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’

कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनको भनाइ छ । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए ।

कमेन्टहरु