स्वास्थ्य कार्यालय कपिलवस्तुलाई सनशाईन संस्थाद्वारा ७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण


कपिलवस्तु, मंसिर ७ । सनशाईन सामाजिक विकास संस्था बुद्धभुमि वडा नं १० चेतरादेईले स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण गरेको छ ।
अष्ट्रेलियन एडको सहयोग र सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाबाट अपरेसन टेबल, ईसीजी मेशिन र कटरी मेशिन अक्सिजन सिलिन्डर लगायत उपकरण सामग्रीहरु स्वास्थ्य कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरिएको हो । ७ लाख ३४ हजार ८५० रुपैयाँ बराबरको सो उपाकरणहरु संस्थाले नगर प्रमुख किरण सिंहलाई हस्तान्तरण गरेको थियो ।
सोहि कार्यक्रममार्फत नै नगर प्रमुख सिंहले सो उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डन डा.किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए । अपरेसन टेबल, ई.सी.जी.मेशिन र कटरी मेशिन लगायत समग्रीबाट कोभिड–१९ प्रतिकार्यमा स्वास्थ्य प्रणालीमा सुधार हुने उद्देश्यले समग्रीहरु हस्तान्तरण गरिएको यू.एम.एन. कपिलवस्तुका टिम लिडर रुप कुमार विकले बताउनुभयो । उक्त सामग्रीले कोभिड –१९ बाट प्रभावित भएकाहरुलाई उपचारमा सहजता प्रदान गरिने विकको विश्वास छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले अपरेसन टेबल, ई.सी.जी.मेशिन र कटरी मेशिन लगायत उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवालाई प्रदान गर्ने सनशाईन संस्थालाई धन्यावद दिनुभएको थियो । सनशाईनले विगतका दिनहरु र कोभिड –१९ मा विभिन्न किसिमको सहयोग गरेको सम्झदै अगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिनहुन सिंहले आग्रह गर्नुभएको थियो ।
संस्थाले प्रदान गरेको उपाकरणबाट कपिलवस्तु अस्पताल तौलिहवालाई धेरै महत्वपूर्ण सहयोग पुगेको कपिलवस्तु अस्पतालका मे.सु. डा.किशोर बन्जाडे बताउनुभयो । सामग्रीको सक्दो प्रयोग गर्ने र यसबाट नागरिकहरु धेरैभन्दा धेरै लाभान्वित हुने डा.बन्जाडेले विश्वास व्यक्त गरे । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कपिलवस्तु अस्पताल तौलिहवाका मे.सु. डा.किशोर बन्जाडे, अस्पताल व्यवस्थापक रत्नाकर शुक्ला, यू.एम.एन. कपिलवस्तुका टिम लिडर रुप कुमार विक, सर्जन डा.शहजाद अहमद्द खान, यू.एम.एन. प्रोग्राम व्यवस्थापन सन्जु गौतम, सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठ, स्वास्थ्य प्रणालीमा सुधार परियोजनाका सयोजक एलिशा देव, लेख प्रमुख शहाबुद्धीन फकिर, हेमराज थारु लगायतको उपस्थिति रहेको थियो ।
सनशाईन सामाजिक विकास संस्थाद्धारा संचालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाका सयोजक एलिशा देवले कार्यक्रमको संचालन गरेकी थिइन ।






















