वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको घोषणा


काठमाडौं । नेकपा एमालेको आगामी १० औं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनको नारायणी किनारमा हुदैछ । पत्रकारहरुसँग कुरा गर्दै नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’
नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन साथीहरूबाट सुझाव आएको बताए । ‘अहिलेसम्म साथीहरुको सल्लाह तपाईंले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । अब साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु’, नेम्वाङको भनाइ छ ।
एमाले अध्यक्ष ओली यसपटकको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा भएपनि आकांक्षीहरु धेरै भएपछि ओली समुहका नेताहरुलाई व्यवस्थापन गर्न निकै सकस पर्ने देखिएको छ । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो ।
उक्त पद अहिलेका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउदै आएका छन् । तर अब यो पदमा पोखरेलसहित रामबहादुर थापा बादल र सुवास नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।






















