राजनीति

साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखियो : अख्तियार

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०६:०७ बजे

जनकपुरधाम, २९ कात्तिक । प्रदेश २ सरकारले वितरण गरेको साईकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ । प्रारम्भिक अनुसन्धान टुंगिएको छ । दोश्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ । त्यसमा छुट्टै अनुसन्धान अधिकृत नियुक्ति भएको छ ।’
उनले दोस्रो चरणको अनुसन्धानमा पनि अनियमितता देखिए संलग्न पदाधिकारीमाथि कारबाही हुने स्पष्ट पारे ।
‘अब विस्तृतमा छानबिन र अनुसन्धान हुन्छ । यदि त्यसमा पनि अनियमितता भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी उपर भ्रष्टाचारको कसुरमा मुद्दा दायर हुन्छ’ उनले भने ।

उनले विस्तृत अनुसन्धान साईकल खरिदमा संलग्न अधिकारीहरुलाई छुट्टाछुट्टै बोलाएर बयान लिने भएकोले डेढदेखि दुई महिना समय लाग्ने उनले बताए । गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साईकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको थियो ।

अख्तियारको विरोधमा प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन प्रदेश २ को आठ वटै जिल्लामा विरोध प्रदर्शन गरेको थियो ।

कमेन्टहरु