देश

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बोलाइएको सचिवालय बैठक बस्छ कि बस्दैन भन्ने चर्चा चुलियो

नवलपुर टुडे
२०७७ मंसिर ३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बोलाइएको सचिवालय बैठक बस्छ कि बस्दैन भन्ने चर्चा चुलिएको अवस्थामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पुर्व निर्धारित समयमा बैठक बस्ने प्रष्ट पारेको छ ।
बैठक सार्न अनुरोध गरिरहनु भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा आउनु भएन भने बैठक कसरी बस्ला ? भन्ने जिज्ञासामा पार्टीका सबै नेताको सर्वसम्मतीबाट सचिवालय बैठक बोलाइएकोले बैठक तोकिएको समयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले प्रष्ट्याएको
नेकपा सचिवालयको बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले अघिल्लो बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताबमा छलफल हुने बताइएको छ । प्रचण्ड सचिवालयले नेकपाको आन्तरिक विवादलाई लिएर बढेको चिनियाँ राजदूतको सक्रियतालाई पनि अस्वभाविक भएको जनाएको छ ।

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताउनुभएको छ । बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको हो ।

तर पार्टीले बैठक बोलाएकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक बोलाउनु भएको हो । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै दिउँसो १ बजे बोलाइएको एक मन्त्रीले Nawalpurtoday लाई जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी र सरकार सञ्चालनको विषयमा उत्पन्न विवादका कारण संवादहिनता बढेको अवस्थामा एकै समय दुई बैठक बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कमेन्टहरु