देश

महोत्तरी र सर्लाहीमा आगलागी हुँदा लाखौँको क्षति

जगत ठाडा मगर
२०७८ कार्तिक २० | बिहान ०७:०७ बजे

जनकपुरधाम । प्रदेश २ को महोत्तरी र सर्लाहीमा दीपावलीमा बालिएको दियो र मैनबत्तीबाट आगलागी भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर ७ बख्रिचोकमा विष्णु देव ठाकुरको शैलुनमा दीपावलीमा बालिएको मैनबत्तीबाट आगलागी भएको हो ।

आगलागीबाट अन्दाजि ५० हजार मुल्य बराबरको क्षति भएको संचालक विष्णुदेवले बताए । यस्तै दीपावलीमा बालिएको दियोबाट ट्याक्टर सोरुममा आगलगी हुँदा लाखौँको क्षति भएको छ ।सर्लाहीको बयलवासमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ट्याक्टर सोरुम रहेको घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति करिब १ बजे ईश्वरपुर नगरपालिका वडा नम्वर ७ बयलवास बजारस्थित ब्रहमबाबा चौकमा रहेको श्याम मैनालीको काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको छ भने सोही घरको तल्लो तलामा मिथिलेस महतोले संचालन गरेको मिनाक्षी टे«डर्स ट्याक्टरको सोरुममा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीमा सोरुमभित्र रहेको सुपर न्यू होलैन्ड ३६३० मोडेल नम्वरको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेर नष्ट भएको छ भने अर्को ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपियाँ बराबरको क्षति भएको जानकारी दिए । आगो स्थानीयवासी, प्रहरी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

कमेन्टहरु