धर्म–संस्कृति/रीतिथिति

मधेशमा ‘गोवर्धन’ पर्व मनाइँदै

जगत ठाडा मगर
२०७८ कार्तिक १९ | मध्यान्ह ०४:०७ बजे

सप्तरी, १९ कात्तिक । तिहारको चौथो दिन हिन्दु धर्मावलम्बीहरुले गाईको गोबरबाट बनाएको प्रतिमा तथा गाई, गोरुलाई पूजाआजा गरी ‘गोवर्धन पूजा’ मनाउँदैछ ।

गोठ सरसफाई तथा लिपपोत गरी गोबरबाट बनाएको पर्वतलाई गोवर्धन पर्वत मानी पूजाआजा गर्ने परम्परा छ । द्वापर युगमा भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलवासीलाई मुसलधारे वर्षाले निम्तिएको महाविपत्तिबाट बचाउन गोवर्धन पर्वतलाई उचाली त्यसमुनी उनीहरुलाई ओत लगाएर बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको छ ।

भगवान श्रीकृष्णसँग आजको दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति दुख प्रकट गरेको र माफी मागेको श्रीमद्भागवत गीतामा उल्लेख रहेको छ ।
आजकै दिन वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरु र दुध खुवाउँने गाईलाई पूजाआजा गरी पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी लगायत मीठामीठा परिकार खुवाइने गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व बारे विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजाआज गरी आजको दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कमेन्टहरु