शरीर बन्धक मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ


जनकपुरधाम, १६ कात्तिक । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्वर ६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरी रहेका छन् ।
प्रहरीका अनुसार चौधरीलाई २०७० माघ १७ गते जिल्ला अदालत पर्साले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको समन्वयमा तिलगंगाबाट पक्राउ गरेको हो ।
चौधरीलगायतका फरार अन्य व्यक्तिहरु मिलेर २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका वडा नम्वर ३२ बाट अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।






















