बेसीशहर नगरपालिका वडा नम्बर – ६ का अध्यक्षले दिए एमालेबाट राजीनामा

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान १०:०७ बजे

लमजुङ । लमजुङ बेसीशहर नगरपालिका ६ का वडाअध्यक्ष एवं नेकपा एमालेका जिल्ला कमिटी सदस्य भोज बहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन्।
नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष रिमालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्। रिमालले एमाले जिल्ला कमिटी लमजुङलाई सम्बोधन गरी राजीनामा दिएको विज्ञप्ती सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
उनले विज्ञप्तिमा लेखेका छन् ‘एमालेको नगर अधिवेशनमा उपस्थिति प्रतिनिधिको भावना विपरित नेताको ठाडो निर्देशन अनुसार नगर कमिटीको अध्यक्ष तोक्ने प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकाले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।’ रिमालले शनिबारको नगर अधिवेशनमा नगर अध्यक्षमा दावी गरेका थिए।






















