सरकार परिवर्तन भएपछि नेपाल फर्किए राजदूत खतिवडा


काठमाडौ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा बुधबार नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि अक्टोबर २७ मा ऊनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।
सरकार परिवर्तन भएपछि उनी लगायत अन्य देशका राजदूतहरूलाई पनि नेपाल फिर्ता बोलाइएको छ ।खतिवडालाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमार राज खरेल, आर्थिक सल्लाहकार होम कान्त भण्डारी, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, सैनिक सहचारी भुवन पूर्ण सत्याल लगायत दूतावासका कर्मचारी पुगेका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका खतिवडालाई अक्टोबर २०२० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू, र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर आवासीय राजदूतको रुपमा काम गरेका थिए ।
यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनी विश्व बैङ्क, आईएमएफ र विश्व बैङ्क समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी रहेका थिए ।






















