माइतीघरमा धर्ना बसेका पीडित परिवारसँग राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगका अध्यक्षले गरे भेट


काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट ज्यान गुमाएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेका छन् ।
पीडित पक्षको न्यायका लागि नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलबार महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् ।
पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए ।
उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग राखेर पीडित परिवारलाई तत्काल न्याय दिलाउन पहल गर्ने बताए । उनले स्थानीय सरकारले सही समयमा सही भूमिका खेल्न नसकेको कारण नै नेपालगञ्जदेखि पीडित परिवारका सदस्यहरु हिँडेर काठमाडौंसम्म आएको बताए ।
अध्यक्ष अन्सारीले भने, ‘धोबी र कुर्मीको न्यायका लागि गृहमन्त्री र आइजीपी सँग कुराकानी गरेर दोषीमाथि कारबाहीको लागि माग राख्नेछु । उहाँहरुको न्यायको लागि पहल गर्नेछौं ।’ त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलामाथि भएको हिंसालाई समयमै सम्बोधन गर्नुपर्ने बताइन् ।
उनले पीडितलाई न्याय र पीडकलाई तत्काल कारबाही गर्नुपर्ने बताउँदै घटनाको छिटो भन्दा छिटो छानबिन गर्नुपर्ने बताइन् ।






















