राजनीति

बाढी–पहिरोबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

जगत ठाडा मगर
२०७८ कार्तिक २ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरोले क्षति पुर्‍याएको भन्दै क्षतिको ‘ब्रिफिङ’ गर्न गृहमन्त्री खाँण मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।प्रधानमन्त्री देउवाले जिल्ला प्रशासनमार्फत उद्धारका काम तीव्र बनाउन, आवश्यक परेका ठाउँमा थप सुरक्षा टोली पठाउन र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

जवाफमा गृहमन्त्री खाँणले बाढी प्रभावित जिल्लामा आफूले टेलिफोनमार्फत जानकारी लिएको र आवश्यक निर्देशन पनि दिइसकेको बताएका थिए ।उक्त भेटपछि प्रधानमन्त्रीले ट्विट गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशसहितका विभिन्न जिल्लामा तत्काल उद्धार र राहतको काम अघि बढाउन आफूले निर्देशन दिएको ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन् – “सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,”।

कमेन्टहरु