रुपन्देहीबाट ३१ वर्षीया महिला छोरासहित बेपत्ता


बुटवल । गुल्मीका ३१ वर्षीया एक महिला रुपन्देहीबाट आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् ।
गुल्मीको मुसीकोट नगरपालिका- ५ घर भएकी संगीता गैरे असोज २२ गतेदेखि बुटवल कालिकानगरस्थित सानी आमाको घरबाट सम्पर्कबिहीन भएकी हुन् । आफन्तहरु सबैतिर सोधखोज गर्दा पनि केही पत्ता नलागेपछि उनका श्रीमान् खडानन्द गैरेले खोजी कार्य गरिदिन प्रहरी लगायत सबैसँग अपील गरेका छन् ।
‘म गुल्मी गएको बेला सानीआमाको घरबाट छोरालाई पनि लिएर हिंडेकी रहिछन्’ गैरेले भने ‘१० दिनसम्म पनि कहाँ छन् भन्ने कुनै पत्तो लागेको छैन ।’ आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घर फर्किएको उनले बताए । संगीता बिगत सात वर्षदेखि छोरासहित सानी आमाको घरमा बस्दै आएकी थिइन् ।
एम्स स्कुल बुटवलमा अध्ययनरत ९ वर्षका छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोबाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै खडानन्दले खोजीमा सहयोग गर्न सबैसँग अपील गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले संगीताको खोजी कार्य भइरहे पनि हालसम्म पत्ता लाग्न नसकेको बताइएको छ ।






















