Opens in a new tab

समाज

बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पैदलयात्रीको सहजताका लागि युवाहरूको श्रमदान

नवलपुर टुडे
२०८३ अशोज १७ | बिहान ०६:०६ बजे

म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्रका रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन स्थानीय युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्।

बेनीका प्रकाश पौडेलको नेतृत्वमा खटिएको युवा टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रका अप्ठ्यारा ठाउँहरूमा भर्‍याङ राख्ने तथा डोरी झुन्ड्याउने काम गर्‍यो। १५ जनाको समूहले दिनभर श्रमदान गरेर बाटो अवरुद्ध पारेका रूखहरू काटेर पन्छाएको संयोजक पौडेलले बताए।

“सडक मर्मत सकिएर नियमित यातायात सञ्चालन नहुँदासम्म पैदल हिँड्न बाध्य यात्रुहरूको सहजताका लागि यो अभियान चलाइएको हो,” पौडेलले भने, “सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै साथीहरूलाई जुटाएर पैदलयात्रुलाई सहज र सुरक्षित बनाउने प्रयास गरेका हौँ।”

गत साताको झरीपछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड क्षतविक्षत बनेपछि धेरै ठाउँमा हिँड्नसमेत कठिन भएको छ। हप्तादिनअघिसम्म दैनिक हजारौँ सवारीसाधन गुड्ने बेनीदेखि काभ्रेभीरसम्मको ३३ किलोमिटर सडक पहिरो र कालीगण्डकीको कटानले छियाछिया पारेको छ। कतिपय ठाउँमा पक्की सडकको नामनिसानै नरहने गरी बगेको छ।

सडक मर्मत नहुँदा मुस्ताङमा रोकिएका पर्यटक, तीर्थयात्री, व्यवसायी र स्थानीयका लागि जोखिम मोलेर पैदल हिँड्नुबाहेक अर्को विकल्प छैन।

यसैबीच, बेनी–जोमसोम–कोरला सडक आयोजनाले अवरुद्ध भएका ४६ मध्ये ४१ ठाउँमा मर्मत सकिएको जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग–तातोपानी खण्डमा मर्मतको काम भइरहेको बताए।

उनले इन्धन, उपकरण र मजदुर परिचालन गरी कोरला नाका जोड्ने सडक चाँडोभन्दा चाँडो सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको जानकारी दिए।

कमेन्टहरु