Opens in a new tab

प्रबास

अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा नोरइस्टर’ आँधीको वितण्डा, न्यूयोर्क र न्यु जर्सीमा आपत्काल घोषणा

एजेन्सी
२०८३ अशोज ११ | बिहान ११:०६ बजे

न्यूयोर्क । अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली ‘नोरइस्टर’ आँधीका कारण व्यापक बाढी, विद्युत् आपूर्ति अवरुद्ध र यातायात प्रभावित भएपछि न्यूयोर्क र न्यु जर्सी राज्यमा आपत्काल घोषणा गरिएको छ।

शनिबार आएको शक्तिशाली आँधीका कारण न्यूयोर्क सहरदेखि बोस्टनसम्मका तटीय क्षेत्रमा खतरनाक बाढी, तीव्र हावाहुरी र भारी वर्षा भएको अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले जनाएको छ। भर्जिनियादेखि मेनसम्मका क्षेत्रमा पनि वर्षा र शक्तिशाली हावाको पूर्वानुमान गरिएको छ।

न्यु जर्सीका तटीय क्षेत्रहरूमा बाढीको अवस्था गम्भीर बनेको छ। सर्फ सिटी र मनास्क्वानलगायत क्षेत्रमा सडक र घरहरूमा बाढीको पानी पसेको छ। केही स्थानीय बासिन्दा बाढीग्रस्त सडकमा कयाक र प्याडल बोर्डको प्रयोग गर्दै आवतजावत गरिरहेका तस्बिर सार्वजनिक भएका छन्।

एनडब्ल्यूएसले तटीय क्षेत्रमा रहेका होचा भूभागहरूमा तत्कालै ठूलो मात्रामा पानी पस्न सक्ने चेतावनी दिएको छ। सडक डुब्नुका साथै घर तथा व्यवसायमा समेत असर पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

शनिबारको पूर्णिमाका कारण समुद्री सतह थप बढेर तटीय बाढीको जोखिम अझ बढ्न सक्ने बताइएको छ।

न्यु जर्सीकी गभर्नर मिकी शेरिलले राज्यवासीलाई आँधीलाई गम्भीर रूपमा लिन, सतर्क रहन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न आग्रह गरेकी छन्।

न्यूयोर्कमा सप्ताहन्तभर हावाको गति प्रतिघण्टा ५५ माइल (करिब ८६ किलोमिटर) सम्म पुग्न सक्ने चेतावनी दिइएको छ। तीव्र हावाका कारण रुख र विद्युत् प्रसारणका तार ढल्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्।

न्यूयोर्क सहरका मेयर जोहरान मामदानीले आवश्यक नभएसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले बाढीको पानीमा गाडी नचलाउन र पैदल समेत नहिँड्न चेतावनी दिएका छन्।

एक लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध

आँधीका कारण अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा एक लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत् आपूर्ति अवरुद्ध भएको विद्युत् अवरोधसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था पावरआउटेजले जनाएको छ।

हवाई यातायात पनि नराम्ररी प्रभावित भएको छ। अमेरिकी संघीय उड्डयन प्रशासनले यात्रुहरूलाई विमानको अवस्था बुझ्न सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ। फ्लाइटअवेयरका अनुसार २ हजार ४०० भन्दा बढी उडान ढिला भएका छन् भने १ हजार १९९ उडान रद्द भएका छन्।

कन्सर्ट र खेलकुद कार्यक्रम प्रभावित

आँधीका कारण विभिन्न ठूला सांस्कृतिक तथा खेलकुद कार्यक्रम पनि स्थगित वा रद्द भएका छन्।

बोस्टनमा हुने एड शिरानको बहुप्रतीक्षित कन्सर्ट मौसमको खराब अवस्थाका कारण रद्द गरिएको छ। गिलेट स्टेडियमले सुरक्षा कारण देखाउँदै कार्यक्रम रद्द गरिएको जनाएको छ।

यसैगरी, न्यूयोर्कको सेन्ट्रल पार्कमा हुने ‘ग्लोबल सिटिजन फेस्टिभल’ पनि रद्द गरिएको छ। उक्त कार्यक्रममा लौरिन हिल, वाइक्लेफ जीन र जोन लेजेन्डलगायत कलाकार सहभागी हुने तय भएको थियो।

बोस्टन क्षेत्रमा हुने मेजर लिग बेसबलको खेल पनि प्रभावित भएको छ। बोस्टन रेड सोक्स र शिकागो कब्सबीचको सिरिजको अन्तिम खेल शनिबारको सट्टा आइतबार दिउँसो फ्लोरिडामा सारिएको छ।

त्यस्तै, रेड बुल न्यूयोर्क र सेन्ट लुइस सिटी एससीबीचको व्यावसायिक फुटबल खेल पनि रद्द गरिएको छ।

म्यासाचुसेट्सको तटीय क्षेत्रमा समुद्री छालहरू तीव्र रूपमा किनारमा ठोक्किएका छन्। मौसमविद्हरूले आँधीको प्रभाव रहँदासम्म तटीय तथा होचा भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

कमेन्टहरु