फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्ष निर्वाचित


समरकन्द, उज्बेकिस्तान । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) को अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनीसँगै पूर्व चेस विश्व विजेता भारतीय विश्वनाथन आनन्द पनि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए।
उज्बेकिस्तानको समरकन्दमा शनिबार सम्पन्न फिडे महासभाको निर्णायक दोस्रो चरणको मतदानमा तुरलोभले जर्मन उद्यमी वादिम रोजेनस्टाइनलाई ११०–८५ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष पद हासिल गरेका हुन्।
निर्वाचनमा तेस्रो उम्मेदवार जर्मनीका जान हेनरिक्स बटनर पहिलो चरणबाट बाहिरिएका थिए। पहिलो चरणमा तुर्लोभले ९६, रोजेनस्टाइनले ७६ र बुटनरले २० मत प्राप्त गरेका थिए।
कुल १९६ मत खसेकोमा चार मत बदर भएका थिए भने १९२ मत सदर भएको थियो। पहिलो चरणमै निर्वाचित हुन पचास प्रतिशत भन्दा माथि ९७ मत आवश्यक थियो।
टुरलोभ आवश्यक बहुमतभन्दा एक मतले पछि परेपछि उनी र रोजेनस्टाइनबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो। दोस्रो चरणमा बटनरले टुरलोभलाई समर्थन गरेपछि उनको मत ११० पुगेको थियो। वादिम रोजेनस्टाइनले ८५ मत प्राप्त गरे।
७५ अर्ब डलर अनुमानित सम्पत्तिका मालिक ३८ वर्षिय रुसी मुलका कजाक अर्बपति तुर्लोभले आगामी ४ बर्ष सम्म विश्व चेसमा नेतृत्व प्रदान गर्नेछन्।
तुर्लोभसँगै उनको टिमबाट पाँच पटकका विश्व च्याम्पियन भारतीय ग्रान्डमास्टर विश्वनाथन आनन्द फिडेको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।
यसै समूहबाट अन्य चार उपाध्यक्षमा चिनका जु युहुवा, अमेरिकाका मिचेल, रुसका पालोभ र डिजिबोटिका यासिन हसन निर्वाचित भएका छन्।
अन्तर्राष्ट्रिय चेस महासंघको निर्वाचनमा नेपालले शुरु देखि टिमुर तुर्लोभ र विश्वनाथन आनन्दको समूहलाई खुलेर समर्थन गर्दै प्रचारप्रसारमा समेत सहयोग गरेको थियो।
विजयी पश्चात् नवनिर्वाचित तुर्लोभले नेपाल चेस महासंघ टोलीलाई कृतज्ञता ज्ञापन गर्दै नेपालको चेस गतिविधिमा विभिन्न योजनाहरु कार्यान्वयन गराउने प्रतिबद्धता जाहेर गरेका छन्।
फिडे कांग्रेसमा नेपाली प्रतिनिधि अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, फिडे महिला कमिसनका काउन्सिल सदस्य एवं उप महासचिव मोनालिसा खम्बु, रुल्स अफ कमिशनका काउन्सुलर उमेश केसि, महिला कमिसनका सदस्य एवं उपमहासचिव मोनालिसा खम्बु, निर्णायकको भूमिकामा रहेका कार्यबाहक कोषाध्यक्ष निरञ्जन प्रजापति र प्रवक्ता राजु ताम्राकारले विभिन्न महत्त्वपूर्ण बैठकहरुमा सहभागी जनाएको छ।
यसैबीच ४६ औं चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिमले १० औं चरणको खेलमा ट्रिनिडाड एण्ड टोबाको माथि जीत दर्ता गर्दै समग्रमा डि समूकको शीर्ष स्थान ओगटेका छन्।
प्रतियोगितामा नेपाली पुरुष टिमले विश्वका उत्कृष्ट सहभागी २०६ टिम मध्ये ८० औं स्थानमा रहँदै चेस ओलम्पियाड इतिहासकै उच्च उपलब्धि हासिल गरेको हो।
आइतबार विहान अन्तिम चरणको खेलमा सशक्त स्टोनिया टिमसँग प्रतिस्पर्धा गर्दै नेपालले पदक सहित सुखद नतिजा प्राप्त गर्नेछन्।






















