Opens in a new tab

खेलकुद

चेस ओलम्पियाडमा पुरुष टोली पराजित, महिलाको जित

नवलपुर टुडे
२०८३ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

समरकन्द, उज्बेकिस्तान। ४६औँ चेस ओलम्पियाड अन्तर्गत सातौँ चरणको खेलमा नेपालको पुरुष टोलीले सिरियासँग ३.५–०.५ ले पराजय व्यहोरेको छ। सेप्टेम्बर २३ मा सम्पन्न भएको उक्त खेलमा नेपालका लागि सिएम पुरुषोत्तम सिलवालले आधा अंक दिलाए भने अन्य तीन खेलाडी पराजित भए।

सिरियाविरुद्ध पहिलो बोर्डमा सिएम पुरुषोत्तम सिलवालले एफएम चेख अदम खेदर आरामसँग बराबरी खेले। दोस्रो बोर्डमा एफएम रुपेश जैसवाल एफएम फण्डि माजेनसँग, तेस्रो बोर्डमा आशिष फुयाँल बकर रोडिसँग तथा चौथो बोर्डमा राजन सुबेदी एैति बसिरसँग पराजित भए।
यता, महिला टोलीले सेन्ट लुसियामाथि ३.५–०.५ को शानदार जित निकालेको छ। नेपालका लागि एन्जल महर्जन, पूजा भण्डारी र सिन्धिरा जोशीले जित हात पारे भने कृतिसरा अधिकारीले बराबरी गरिन्।

सेन्ट लुसियाविरुद्ध पहिलो बोर्डमा एन्जल महर्जनले त्रिसान रिचार्डलाई, तेस्रो बोर्डमा पूजा भण्डारीले भर्नेसा जेम्सलाई, चौथो बोर्डमा सिन्दिरा जोशीले कियरा लम्बर्टलाई पराजित गरे। दोस्रो बोर्डमा कृतिसरा अधिकारी र चेल्सिया वाहिद बीचको खेल बराबरी भयो। यसरी सातौँ चरणमा नेपालको महिला टोलीले ३.५ स्कोर सहित ६ अंक तथा पुरुष तर्फ ०.५ स्कोर सहित समान ६ अंक बनाएर प्रतिस्पर्धा जारी राखेका छन्।

सात चरणको प्रदर्शनपछि नेपाल पुरुष टोली १२७ औं स्थानबाट ९४ स्थानमा तथा महिला टोली १३१ औं बाट ११४ औँ स्थानमा रहन सफल भएका छन्। स्पर्धामा नेपालका दुबै टोलीले ३ खेलमा जित, ४ खेलमा हार व्यहोरेको छ । आठौं चरणमा पुरुष टोलीले कतार सँग तथा महिला टोलीले मादागास्कर सँग प्रतिस्पर्धा गर्नेछ।

विश्व बुद्धिचाल महासंघको ४६ औं चेस ओलम्पियाडमा आयोजक उज्बेकिस्तान १४ अंक बनाएर शीर्ष स्थानमा छन् भने नेपाली मूल भई नेदरल्यान्डबाट प्रतिस्पर्धा गरिरहेका अनिष गिरिको टोली १२ अंक जोडेर दोश्रो स्थान तथा भारत तेश्रो स्थानमा छन्।
महिला तर्फ चिन र काजकिस्तान समान १३ अंक बटुलेर शीर्ष स्थानमा छन् भने भारतीय टोली १२ अंक जोडेर पछाडि रहेका छन्।

राजु ताम्राकार
प्रवक्ता
नेपाल बुद्धिचाल महासंघ

कमेन्टहरु