१८ करोडको खानेपानी आयोजना, स्वच्छ खानेपानी पाउनेमा स्थानीय आशावादी


नवलपरासी, असोज ८ । नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ र १८ का बासिन्दालाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ अमराैट–धरमपुर खानेपानी आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। १८ करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण हुन लागेको यस आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ।
आयोजना कार्यान्वयनका लागि रामग्राम नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बुटवल र मिलिजुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिबिच सम्झौता भएको हो । लामो समयको निरन्तर प्रयास र पहलपछि यो महत्वपूर्ण आयोजना निर्माणको चरणमा पुगेको हो ।
रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालका अनुसार “आयोजना निर्माणको सम्झौता भएसँगै अब कार्यान्वयनको प्रक्रिया तीव्र पारिनेछ। उपभोक्ता समिति र सम्बन्धित प्राविधिक टोलीसँग समन्वय गरी निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गराउन नगरपालिकाको प्रशासनिक संयन्त्र पूर्ण रूपमा परिचालन हुनेछ। यसबाट स्थानीयस्तरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित हुनेछ।”
नगर प्रमुख धनपत यादवका अनुसार “रामग्रामका वडा नं. १४ र १८ का बासिन्दालाई वर्षोंदेखि रहँदै आएको खानेपानीको समस्याबाट मुक्ति दिलाउन यो आयोजना कोसेढुङ्गा साबित हुनेछ। स्थानीय बासिन्दालाई घर-घरमै स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हाम्रो प्रतिबद्धता पूरा हुने दिशामा यो ठूलो सफलता हो। आयोजनालाई तोकिएकै समयमा उच्च गुणस्तरका साथ सम्पन्न गराउन नगरपालिकाले पूर्ण सहयोग र सहजीकरण गर्नेछ।”
प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयका अनुसार: “स्थानीय तह, विषयगत कार्यालय र उपभोक्ता समितिको लागत साझेदारीमा सञ्चालन हुन लागेको यो आयोजना सार्वजनिक-सहभागिताको एक उत्कृष्ट उदाहरण हो। योजनाको प्रशासनिक, प्राविधिक र वित्तीय पारदर्शिता कायम राख्दै निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन हामी प्रतिबद्ध छौँ। तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गराउन नियमित अनुगमन गरिनेछ।”
आयोजना सम्पन्न भएसँगै यस क्षेत्रका हजारौँ बासिन्दा स्वच्छ र सुरक्षित खानेपानीको पहुँचमा पुग्ने विश्वास लिइएको छ ।






















