यातायात

तीन दिनपछि खुल्यो बेसीसहर–चामे सडक

रासस
२०८३ अशोज २ | मध्यान्ह ०१:०६ बजे

लमजुङ । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेका थिए । तीमध्ये एउटा ढुंगा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुंगा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलोपटकको विस्फोटबाट ढुंगा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुंगा फुटाएर पहिरो पन्छाइएको उनले बताए ।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ ।

ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए ।  करिब ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो ।

मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ ।

कमेन्टहरु