भयावह प्रकोप बन्दै बंगलादेशमा दादुरा, एक हजारभन्दा बढी बालबालिकाको मृत्यु


ढाका । बंगलादेशमा दशकौँयताकै सबैभन्दा गम्भीर दादुरा प्रकोप देखिएको छ । संक्रमण नियन्त्रण गर्न आपत्कालीन खोप अभियान सञ्चालन भइरहे पनि पछिल्लो समयसम्म एक हजारभन्दा बढी बालबालिकाको मृत्यु भइसकेको र दैनिक करिब १ हजार नयाँ शंकास्पद संक्रमित थपिइरहेको जनाइएको छ ।
बंगलादेश सरकारले देशभर सञ्चालन गरेको आपत्कालीन अभियानमा १ करोड ९८ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइसकेको छ । तर ठूलो संख्यामा बालबालिका अझै खोपको पहुँचबाहिर रहेकाले संक्रमण नियन्त्रण गर्न कठिन भइरहेको छ ।
मार्चदेखि १ लाख ९४ हजारभन्दा बढी संक्रमित
बंगलादेशमा मार्च २०२६ देखि दादुराको संक्रमण तीव्र रूपमा फैलिएको हो । पछिल्लो सरकारी तथ्यांकअनुसार मार्चयता १ लाख ९४ हजारभन्दा बढी शंकास्पद तथा संक्रमित केस रिपोर्ट भइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अप्रिलमै संक्रमण देशका ६४ मध्ये ५८ जिल्लामा फैलिएको थियो । त्यतिबेला १५ मार्चदेखि १४ अप्रिलसम्म १९ हजार १६१ शंकास्पद केस र २ हजार ८९७ प्रयोगशाला प्रमाणित केस भेटिएका थिए । १६६ जनाको दादुरासँग सम्बन्धित मृत्यु शंकास्पद र ३० जनाको मृत्यु प्रमाणित भएको थियो ।
त्यसपछि संक्रमण झन् तीव्र भएको डब्लुएचओको तथ्यांकले देखाउँछ । जुन १४ सम्म मात्रै ८५ हजार ९५१ शंकास्पद केस र १० हजार ३२३ प्रयोगशाला प्रमाणित केस रिपोर्ट भएका थिए । त्यस अवधिसम्म ५६० शंकास्पद तथा ९२ प्रमाणित दादुरा–सम्बन्धी मृत्यु भएको डब्लुएचओले जनाएको थियो ।
बीबीसीले उद्धृत गरेको पछिल्लो सरकारी तथ्यांकअनुसार मंगलबार मात्रै थप आठ जनाको शंकास्पद दादुराबाट मृत्यु भएको थियो ।
पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित
दादुरा अत्यन्त संक्रामक भाइरसजन्य रोग हो । संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने सूक्ष्म कणबाट यो सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । डब्लुएचओका अनुसार बंगलादेशमा रिपोर्ट भएका संक्रमितमध्ये करिब ७९ प्रतिशत पाँच वर्षभन्दा कम उमेरका बालबालिका छन् । दुई वर्षभन्दा कम उमेरका बालबालिकाको हिस्सा मात्रै ६६ प्रतिशत छ भने नौ महिनाभन्दा कम उमेरका शिशु ३३ प्रतिशत छन् ।
विशेषगरी नौ महिनाभन्दा कम उमेरका शिशु जोखिममा छन्, किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य नहुन सक्छन् ।
डब्लुएचओका अनुसार पुष्टि भएका दादुरा संक्रमितमध्ये करिब ८३ प्रतिशत खोप नलगाएका बालबालिका छन् । यसले बंगलादेशमा खोपबाट सिर्जना हुनुपर्ने सामूहिक प्रतिरोधात्मक क्षमतामा ठूलो कमी आएको देखाउँछ ।
खोपको पहुँचमा आएको कमी मुख्य कारण
बंगलादेशले केही वर्षअघिसम्म दादुरा उन्मूलनतर्फ उल्लेखनीय प्रगति गरेको थियो । तर पछिल्ला वर्षमा नियमित खोप कार्यक्रममा आएको अवरोधले ठूलो संख्यामा बालबालिका संवेदनशील बने ।
डब्लुएचओका अनुसार २०२४–२५ मा दादुरा–रुबेला खोपको राष्ट्रिय स्टक सकिनु, नियमित खोप सेवामा रहेका कमजोरी तथा २०२० पछि नियमित रूपमा राष्ट्रव्यापी अतिरिक्त खोप अभियान सञ्चालन हुन नसक्नुले ‘इम्युनिटी ग्याप’ बढायो ।
युनिसेफका अनुसार दोस्रो मात्रा दादुरा खोपको पहुँच २०१९ मा ८९ प्रतिशत रहेकोमा २०२३ मा ८०.७ प्रतिशतमा झरेको थियो । करिब १ करोड बालबालिका पहिलो मात्रा र २ करोड बालबालिका दोस्रो मात्रा खोपका दृष्टिले संवेदनशील अवस्थामा रहेको युनिसेफले जनाएको थियो ।
कोभिड महामारीको असर
स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना महामारीका समयमा नियमित खोप सेवामा आएको अवरोधले पनि अहिलेको अवस्थालाई गम्भीर बनाउन भूमिका खेलेको छ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण स्वास्थ्य प्रणालीमा समेत विभिन्न व्यवधान आएका थिए । बीबीसीले युनिसेफलाई उद्धृत गर्दै सन् २०२५ मा खोप खरिदमा भएको ढिलाइले केही समय खोप अभावको अवस्था सिर्जना गरेको दाबी गरेको छ । तत्कालीन स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने खोप अभाव भएको दाबी अस्वीकार गरेका थिए ।
यस विषयमा आरोप र प्रत्यारोप रहे पनि डब्लुएचओको तथ्यांकले भने पछिल्ला वर्षमा खोपको पहुँचमा आएको कमी र प्रतिरोधात्मक क्षमतामा बनेको खाली ठाउँ प्रकोप फैलिनुको महत्वपूर्ण कारण भएको देखाउँछ ।
अस्पतालमा बिरामीको चाप
संक्रमण बढेसँगै बंगलादेशका अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ । युनिसेफले अप्रिलमै धेरै स्वास्थ्य संस्थामा अत्यधिक भीड, बिरामी छुट्याएर राख्ने पर्याप्त स्थानको अभाव तथा औषधि र रेफरल सेवामा समस्या रहेको जनाएको थियो । ढाकाको इन्फेक्सियस डिजिज अस्पतालमा एकै दिन ९० भन्दा बढी बिरामी भर्ना भएको र कुश्तिया मेडिकल कलेज अस्पतालमा ५७ शय्या हुँदाहुँदै ८४ बालबालिका उपचाररत रहेको रिपोर्ट गरिएको थियो ।
जुनमा डब्लुएचओको तथ्यांकअनुसार दादुरा शंकास्पद बिरामीमध्ये दैनिक औसत ९०२ जना अस्पताल भर्ना भइरहेका थिए ।
अप्रिलदेखि राष्ट्रव्यापी खोप अभियान
सरकारले डब्लुएचओ, युनिसेफ र गाभीको सहयोगमा ५ अप्रिल २०२६ देखि आपत्कालीन दादुरा–रुबेला खोप अभियान सुरु गरेको थियो । प्रारम्भमा १८ उच्च जोखिमयुक्त जिल्लाका ३० उपजिल्लामा ६ महिनादेखि पाँच वर्षसम्मका १२ लाखभन्दा बढी बालबालिकालाई लक्षित गरिएको थियो । पछि अभियानलाई देशव्यापी बनाइएको थियो ।
रोहिंग्या शरणार्थी शिविरहरूमा समेत अभियान सञ्चालन गरिएको थियो । मे महिनासम्म त्यहाँ १ लाख ६६ हजारभन्दा बढी बालबालिकालाई खोप लगाइएको ध्ज्इ ले जनाएको थियो ।
डब्लुएचओले प्रारम्भिक अभियानलाई महत्वपूर्ण कदम माने पनि सबै लक्षित बालबालिकासम्म खोप पुग्न नसकेको स्वीकार गरेको छ ।
किन बंगलादेशका लागि ठूलो जोखिम ?
बंगलादेशको ठूलो जनसंख्या, अत्यधिक घना बस्ती र भारत तथा म्यानमारसँगको खुला आवतजावतका कारण संक्रमण फैलिने जोखिम अझै उच्च छ । डब्लुएचओले अप्रिलमै बंगलादेशमा दादुराको राष्ट्रिय जोखिमलाई उच्च र क्षेत्रीय जोखिमलाई पनि उच्च मानेको थियो । सीमापार आवतजावतका कारण भारत र म्यानमारलगायत छिमेकी मूलुकतर्फ संक्रमण फैलिने सम्भावनासमेत औँल्याइएको थियो ।
दादुरा नियन्त्रणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई दुई मात्रा खोप लगाउनु आवश्यक मानिन्छ । युनिसेफका अनुसार यस्तो उच्च खोप दरले मात्र समुदायमा पर्याप्त प्रतिरोधात्मक क्षमता निर्माण गर्न मद्दत गर्छ ।
बंगलादेशले दादुरा नियन्त्रणमा विगतमा हासिल गरेको प्रगति अहिलेको प्रकोपले उल्ट्याउने जोखिम बढेको छ । ठूलो संख्यामा बालबालिका खोपको पहुँचबाहिर रहिरहेमा अस्पतालमा बढ्दो चापसँगै मृत्युको संख्या अझ बढ्न सक्ने चिन्ता स्वास्थ्य विज्ञहरूले व्यक्त गरेका छन् । त्यसैले अहिलेको मुख्य चुनौती नयाँ संक्रमितको उपचार मात्र नभई खोप नपाएका प्रत्येक बालबालिकासम्म पुगेर संक्रमणको श्रृंखला तोड्नु बनेको छ ।






















