१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका


म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा कायमै रहेको छ। जिल्लामा गत आर्थिक वर्षमा सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका रहेका छन्। कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका रहेको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताएका छन्। ‘छ जना घरमै सुत्केरी भएका हुन्,’ सुवेदी भन्छन्, ‘गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अर्थात् ४३ जना २० वर्षमुनिका छन्।’
म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मी समाजमा शैली फेरिएर बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउँछिन्। बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उनको भनाइ छ। ‘सामाजिक सञ्जाल, गरिबी, अभिभावकको निगरानी नहुने,’ रेग्मी भन्छिन्, ‘असल अभिभावकत्व र संरक्षण नपाउने तथा भावनात्मक परिबन्धमा परेर किशोरीहरू बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ।’
प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा. हेमन्त बास्तोलाका अनुसार गत आवमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेकी छन्। १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले गत आवमा प्रदेश अस्पताल बेनीबाट प्रसूति सेवा लिएका छन्।
‘बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब,’ डा. बास्तोला भन्छन्, ‘लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीजस्ता समस्या एकसाथ जोडिएका छन्। शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।’
प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन्। त्यस्तै जनजाति समुदायका १७ र ब्राह्मण तथा क्षेत्री समुदायका सात जना रहेका छन्।
विद्यालय तहको पढाइ पूरा नहुँदै किशोरी तथा युवतीहरू आमा र गर्भवती हुँदा उच्च शिक्षा र रोजगारीको अवसरबाट वञ्चित हुने तथा सामाजिक रूपमा पछि पर्ने गरेका छन्। २० वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने र विवाह दर्ता नभई जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ।
उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्दा पारिवारिक विचलन आउने गरेको छ। बालविवाह रोकथामका लागि कानुनी सचेतना मात्र पर्याप्त नभई विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।






















