ग्रीनल्याण्ड स्कुलमा विद्यार्थीको दन्त परीक्षण


भरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा दन्त शिविर सम्पन्न भएको छ । चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा आज (शुक्रबार) स्कुल परिसरमा शिविर आयोजना भएको हो ।
शिविरमा कक्षा ६ देखि १२ सम्मका ६ सय भन्दा बढी विद्यार्थीहरुले दन्त परीक्षण गराएको स्कुल नर्स सुरुची कँडेलले जानकारी दिईन् । शिविरमा दन्त परीक्षणसँगै विद्यार्थीहरुलाई मुख स्वास्थ्यसम्बन्धी सचेतना पनि दिईएको थियो ।
सोही क्रममा विद्यार्थीहरुलाई दाँतको सरसफाइ, ब्रस गर्ने सही तरिका तथा दाँतसम्बन्धी समस्याबाट बच्ने उपायबारे पनि जानकारी दिइएको थियो। दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विद्यार्थीहरूको दाँत परीक्षण गर्दै आवश्यक परामर्शसमेत दिएका थिए।
विद्यार्थीहरूको दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डेन्टल शिविर आयोजना गरिएको स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले बताए । स्कुलले अध्ययनसँगै स्वास्थ्यप्रति सचेतनाका लागि समय समयमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्दै आएको स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले बताईन् ।
शिविर समापन कार्यक्रममा बोल्दै कार्कीले स्कुलले विद्यार्थीको स्वास्थ्यलाई सधैं प्राथमिकता दिँदै आएको बताईन् । उनले प्राविधिक सहयोगका लागि चितवन मेडिकल कलेजलाई धन्यवाद पनि दिईन् ।






















