उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना


काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ ।
‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउने संरचनामा विशेष ध्यान दिनुपर्ने बताए ।
सदस्य थापाले काठमाडौँ उपत्यकाको पूर्व–पश्चिम सम्पर्कलाई थप प्रभावकारी बनाउन नयाँ पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे । उनले बढ्दो सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।
“यो गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुनेछ,” उनले भने ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनाले सहरी यातायात सुधारका लागि पूर्वाधार विकास र सार्वजनिक यातायात सुधारका कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकता दिएको जानकारी दिए ।
उनका अनुसार योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएको छ । उनले गुरुयोजनाको पूर्ण कार्यान्वयनबाट सन् २०५० सम्म काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिइएको बताए ।
चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्गको विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्पसमेत योजनामा समेटिएको उनले जानकारी दिए ।
हालको सार्वजनिक यातायात प्रणालीलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सहसचिव ढकालले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार, एलएमसी दरबारमा कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सेफ्टी, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जालको विकास र चक्रपथ सडकबाहिर पार्किङ सुविधाजस्ता विषय गुरुयोजनामा समावेश गरेको छ ।
गुरुयोजनामा महाराजगञ्ज र चाबहिल–गौशाला भूमिगत मार्ग, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघरमा आकासे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदोबाटो–गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली–त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार योजनालाई समावेश छ ।
गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक र ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारीसाधनको चाप र बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन र समग्र यातायात योजना अपरिहार्य रहेकोमा जोड दिएको छ ।
पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको उक्त गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ ।
योजनाले दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै आधुनिक, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।






















