चीनले अमेरिकामाथि लगायो नयाँ प्रतिबन्ध, सीको अमेरिका भ्रमणअघि चर्कियो तनाव


बेइजिङ । चीनले अमेरिकाविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । बुधबार अमेरिका र यसका कम्पनीमाथि प्रतिबन्ध र निर्यात नियन्त्रणका उपायहरू घोषणा गरिएको हो । अमेरिकी सरकारले हालै चिनियाँ कम्पनीहरूविरुद्ध लागू गरेका विभिन्न प्रतिबन्धहरूको प्रतिकारस्वरूप बेइजिङले यी कदम चालेको जनाएको छ ।
यो निर्णय चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच अर्को महिना अमेरिकामा हुने अपेक्षा गरिएको शिखर बैठकअघि सार्वजनिक भएको छ । विश्वका दुई ठुला अर्थतन्त्र अमेरिका र चीनबिच पछिल्ला केही वर्षदेखि व्यापार, प्रविधि, राष्ट्रिय सुरक्षा र मानवअधिकारका विषयमा लगातार तनाव बढ्दै आएको छ । दुवै देशले सम्बन्धलाई ‘रचनात्मक रणनीतिक स्थिरता’मा राख्ने प्रतिबद्धता व्यक्त गरे पनि नयाँ प्रतिबन्धहरूले प्रतिस्पर्धा झन् तीव्र बनेको संकेत दिएका छन् ।
चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अमेरिकाका धेरै कम्पनीलाई प्रतिबन्ध सूचीमा राखिएको छ । यसमा जैविक प्रविधि (बायोटेक) र प्राकृतिक स्रोतसम्बन्धी विश्लेषण गर्ने कम्पनीहरू छन् । यी कम्पनीहरूलाई चीनको ‘काउन्टरमेजर्स सूची’मा राखिएपछि चीनभित्र रहेका व्यक्ति, संस्था वा कम्पनीहरूले उनीहरूसँग व्यापार, लगानी वा अन्य प्रकारको सहकार्य गर्न नपाउने भएका छन् । चीनका अनुसार यी प्रतिबन्धहरू अमेरिकाले गत साता ४३ चिनियाँ कम्पनीबाट हुने आयातमा प्रतिबन्ध लगाएपछि त्यसको जवाफस्वरूप लागू गरिएको हो । अमेरिकाले ती चिनियाँ कम्पनीहरू उइघुर मुस्लिम तथा अन्य अल्पसंख्यक समुदायमाथि भएको कथित मानवअधिकार उल्लङ्घनसँग सम्बन्धित रहेको आरोप लगाएको थियो ।
चीनले अमेरिकातर्फ हुने ड्रोन, ड्रोनका पुर्जा तथा सम्बन्धित प्रविधिको निर्यात नियन्त्रण पनि थप कडा बनाएको छ । चीन विश्वकै सबैभन्दा ठूलो ड्रोन उत्पादक देश हो। पछिल्ला केही वर्षदेखि उसले राष्ट्रिय सुरक्षा तथा प्रविधि संरक्षणको कारण देखाउँदै ड्रोन निर्यातमा क्रमशः कडाइ गर्दै आएको छ । चीनले यी कदमलाई प्रतिशोधात्मक कारबाही भएको स्पष्ट पारेको छ । वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले लगातार चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्ध लगाएको र त्यसको जवाफ दिन चीनसँग आवश्यक प्रतिकारात्मक कदम चाल्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
अमेरिकालाई आफ्ना प्रतिबन्ध तुरुन्त फिर्ता लिन आग्रह गर्दै उनले चीन–अमेरिका सम्बन्धलाई स्थिर र रचनात्मक बनाउन सहयोग गर्न आह्वान गरेका छन् । ‘यदि अमेरिकाले चीनविरुद्ध नयाँ प्रतिबन्धहरू जारी राख्यो भने चीनले थप प्रतिकारात्मक कदम चाल्नेछ,’ प्रवक्ताले चेतावनी दिँदै भने । चीनले अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले गत महिना चीनमा निर्मित नयाँ मानवरूपी तथा चार खुट्टे रोबोट र विद्युत् रूपान्तरण उपकरणको आयातमा प्रतिबन्ध लगाएपछि पनि असन्तुष्टि जनाएको छ । यसअघि अमेरिकाको एफसीसीले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनमा बनेका नयाँ ड्रोन र तिनका महत्त्वपूर्ण उपकरणहरूको आयात तथा बिक्रीमा पनि लगाएको थियो ।
बेइजिङले विदेशी प्रणाली सफ्टवेयर प्रयोग भएका आयातित कार्यालय उपकरणमाथि राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गर्ने घोषणा पनि गरेको छ । यसका साथै अमेरिकासँग सञ्चालन हुँदै आएको केही कारखाना अनुगमन तथा निरीक्षणसम्बन्धी सहकार्य पनि अस्थायी रूपमा स्थगित गरिएको छ । पछिल्ला केही सातामा अमेरिकी प्रशासनले चीनविरुद्ध धेरै नयाँ प्रतिबन्धहरू लागू गरेको छ । अमेरिकाले इरानी इन्धन ढुवानीमा संलग्न रहेको आरोप लगाउँदै केही चिनियाँ जहाज सञ्चालन कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैगरी अमेरिकी रक्षा मन्त्रालयले चीनका दुई प्रमुख नागरिक विश्वविद्यालयलाई पनि आफ्नो निगरानी सूचीमा समावेश गरेको छ ।
यसबाहेक अमेरिकाले चीनसहित धेरै देशमाथि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल (ट्यारिफ) पनि लगाएको छ । ती देशहरूले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको निर्यात नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेको आरोप अमेरिकाको छ । हालै अमेरिकी अधिकारीहरूले चिनियाँ कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूमाथि पनि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन् ।






















