प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


दुवई, यूएई|
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ। उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाल्नुभएको छ।
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक प्रधानमन्त्री वाग्लेले बिदाइ गर्नुभएको थियो। बिदाइका क्रममा वाग्लेले प्रधानमन्त्री शाहलाई यात्राका क्रममा अध्ययन गर्न पल केनेडीद्वारा लिखित पुस्तक ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ समेत हस्तान्तरण गर्नुभएको थियो।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे अमेरिका प्रस्थान गर्नुभएको हो। उहाँले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यतालिका छ।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. वाग्लेले कार्यवाहक प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुहुनेछ।
यसैगरी, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो।





















