गुगललाई ४०३ मिलियन युरो जरिबाना


काठमाडौं । गुगलमाथि युरोपेली युनियन (ईयू)को कडा डाटा गोपनीयता नियम उल्लंघन गरेको भन्दै ४०३ मिलियन युरो जरिबाना लगाइएको छ । यो मुद्दा गुगलले प्रयोगकर्ताको लोकेसन डाटालाई अनुचित रूपमा प्रशोधन गरेको विषयसँग सम्बन्धित छ ।
आयरल्यान्डको डाटा प्रोटेक्सन कमिसनले गरेको अनुसन्धानमा गुगलले प्रयोगकर्ताको ‘वेब एन्ड एक्टिभिटी’ र ‘लोकेसन हिस्ट्री’मा रहेको लोकेसन डाटालाई कानुनी तथा निष्पक्ष ढंगले प्रशोधन नगरेको पाइएको छ ।
‘वेब एन्ड एक्टिभिटी’ गुगलको यस्तो सेटिङ हो, जसले प्रयोगकर्ताको ब्राउजिङ तथा खोज इतिहास रेकर्ड गर्छ । त्यस्तै, ‘लोकेसन हिस्ट्री’ सेवाले मोबाइल फोनमार्फत प्रयोगकर्ताले भ्रमण गरेका स्थानको रेकर्ड राख्छ ।
अनुसन्धानले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टममा रहेको ‘लोकेसन एकुरेसी’ सुविधामार्फत व्यक्तिगत डाटा प्रशोधन गर्दा पनि गुगलले कानुनी प्रक्रिया, निष्पक्षता र पारदर्शितासम्बन्धी नियम पालना नगरेको देखाएको छ ।
करिब ६ वर्षअघि सुरु भएको उक्त अनुसन्धानमा सन् २०१८ मा लागु भएको युरोपेली युनियनको डाटा गोपनीयता कानुन ‘जनरल डाटा प्रोटेक्सन रेगुलेसन’ अन्तर्गत गुगलले फेब्रुअरी २०२० सम्म प्रयोगकर्ताको डाटा कसरी प्रशोधन गरेको थियो भन्ने विषयको अध्ययन गरिएको थियो ।
गुगलले एक वक्तव्यमार्फत यो जरिबाना कम्पनीका पुराना नीतिसँग सम्बन्धित रहेको र ती नीतिहरू अहिले अद्यावधिक गरिसकिएको जनाएको छ ।
यो आयरल्यान्डको डाटा प्रोटेक्सन कमिसनले लगाएको चौथो ठूलो युरोपेली युनियन डाटा गोपनीयता जरिबाना हो । यसअघि भिडियो सेयरिङ एप टिकटक र मेटा जस्ता कम्पनीमाथि यसभन्दा ठूला जरिबाना लगाइसकिएको छ । मेटामाथि यसअघि १.२ अर्ब युरोको जरिबाना लगाइएको थियो ।






















