अमेरिकासँग वार्ता भइरहेको दाबी तेहरानद्वारा अस्वीकार


तेहरान । विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक होर्मुज जलडमरू पुनः सञ्चालन गर्ने विषयमा इरान र ओमानबीचको वार्ता निर्णायक चरणमा पुगेको छ । तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भन्ने दाबी अस्वीकार गर्दै ओमानसँग भइरहेका छलफल पूर्ण रूपमा द्विपक्षीय रहेको स्पष्ट पारेको छ ।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीका अनुसार तेहरान र मस्कटबीच तीन साताभन्दा लामो समयदेखि जारी वार्तामा व्यावसायिक जहाज आवतजावतका लागि प्रस्तावित मार्ग, प्राविधिक व्यवस्था, समुद्री सुरक्षा तथा दुवै देशको सार्वभौमिकतासम्बन्धी विषयमा व्यापक समझदारी बनेको छ ।
एक वरिष्ठ खाडी अधिकारीका अनुसार इरान र ओमानबीच शुक्रबारसम्म सम्झौता हुने सम्भावना ५०–५० रहेको छ । तर सम्झौता हुँदैमा जलडमरू स्वतः खुल्ने छैन । होर्मुज पुनः खोल्न इरानी नेतृत्वबाट छुट्टै निर्णय र केही पूर्वसर्त पूरा हुनुपर्ने तेहरानले जनाएको छ ।
नयाँ समुद्री मार्गको प्रस्ताव
घारिबाबादीका अनुसार वार्तामा जहाजको आवतजावतका लागि प्रवेश र बाहिरिने मार्गबारे व्यापक सहमति बनेको छ । प्रस्तावित व्यवस्थाअनुसार इरानको लाराक द्वीप आसपासका अस्थायी मार्ग तथा ओमानको क्षेत्रीय जलमार्फत जाने केही मार्ग बन्द गरिनेछन् ।
नयाँ प्रस्तावित मार्गका केही भाग इरानी जलक्षेत्र हुँदै जानेछन् । यो दशकौँदेखि व्यावसायिक जहाजहरू मुख्यतः ओमानको जलक्षेत्रबाट आवतजावत गर्ने व्यवस्थाभन्दा फरक हुनेछ ।
समुद्री यातायात व्यवस्थापन र जहाजबाट सूचना संकलन गर्न संयुक्त समन्वय केन्द्र स्थापना गर्ने प्रस्ताव पनि छलफलमा छ । नयाँ मार्ग सुरुमा दुईदेखि चार महिनासम्म सञ्चालन हुन सक्ने र आवश्यक परे त्यो अवधि थप लम्ब्याउन सकिने घारिबाबादीले बताएका छन् ।
तर उनले स्पष्ट रूपमा भनेका छन्, ‘यो समझदारीले मात्र होर्मुज जलडमरू पुनः खुल्ने भन्ने हुँदैन ।’ उनका अनुसार जलमार्ग खोल्न विशेष पूर्वसर्त पूरा गर्नुपर्नेछ ।
इरानी अधिकारीले ती पूर्वसर्त मुख्यतः अमेरिकासँग सम्बन्धित रहेको बताएका छन् । उनले अमेरिकामाथि नौसैनिक नाकाबन्दी पुनः लागू गरेको, सैन्य कारबाही पुनः सुरु गरेको र प्रतिबन्धहरू पुनः लगाएको आरोप लगाए । अमेरिकाले भने इरानले जलडमरू हुँदै आवतजावत गरिरहेका जहाजमाथि आक्रमण गरेपछि आफूले कारबाही पुनः सुरु गरेको बताउँदै आएको छ ।
अमेरिकासँग वार्ता छैनः इरान
होर्मुजको विषयमा इरान र अमेरिकाबीच अप्रत्यक्ष वा प्रत्यक्ष वार्ता भइरहेको अनुमान भइरहेका बेला तेहरानले त्यसलाई अस्वीकार गरेको छ ।
तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग शान्ति वार्ता भइरहेको र त्यसको प्रक्रिया जटिल हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानी पक्षलाई ‘असाध्यै अफ्यारो’ वार्ताकारको संज्ञा दिँदै इरानको राजनीतिक प्रणाली विभाजित रहेको बताए ।
भान्सका अनुसार अमेरिकाको लक्ष्य अमेरिकी जनताका लागि राम्रो परिणाम हासिल गर्नु हो । उनले वार्ता ‘अस्तब्यस्त’ हुने र निष्कर्षमा पुग्न केही समय लाग्ने बताए । उनले तेलको मूल्य घट्ने, इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने र अमेरिकाको रणनीतिक स्थिति थप बलियो हुने दाबी पनि गरे ।
यसैबीच इरानी उपविदेशमन्त्री घारिबाबादीले अमेरिकासँग पहिले हस्ताक्षर गरिएको समझदारीपत्र (एमओयू) कार्यान्वयनतर्फ अघि बढ्ने वा नबढ्नेबारे इरानले अझै निर्णय नगरेको बताएका छन् ।
होर्मुज किन महत्त्वपूर्ण ?
होर्मुज जलडमरू विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो । फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने यो साँघुरो जलमार्गबाट ठूलो परिमाणमा कच्चा तेल तथा अन्य ऊर्जा उत्पादन विश्व बजारतर्फ जाने गर्छ ।
युद्ध सुरु भएपछि इरानले होर्मुजमाथि आफ्नो नियन्त्रण कायम राखेको छ । जलमार्ग लामो समय अवरुद्ध रहँदा विश्व बजारमा तेलको आपूर्ति प्रभावित हुने र मूल्य थप बढ्ने जोखिम छ ।
यमनका हुथीबाट अर्को जहाजलाई निशाना
यसैबीच इरान समर्थित यमनका हुथी विद्रोहीले अर्को महत्त्वपूर्ण समुद्री मार्ग अदनको खाडीमा साउदी तेल ट्यांकर डेजीलाई निशाना बनाएको दाबी गरेका छन् । हुथीहरूले आफूहरूले जहाजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यसलाई मार्ग परिवर्तन गरी फर्किन बाध्य बनाएको बताएका छन् । यस घटनाले मध्यपूर्वको द्वन्द्वले समुद्री व्यापार र ऊर्जा आपूर्तिमा पार्न सक्ने जोखिम अझै कायम रहेको देखाएको छ ।
इजरायल–लेबनान वार्ता पनि प्रभावित
उता इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा रोममा भइरहेको वार्ता पनि दक्षिणी लेबनानमा इजरायली आक्रमण पुनः सुरु भएपछि निर्धारित समयभन्दा अगावै स्थगित भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्ता बुधबार स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे ‘मैदानमा विकसित घटनाहरू’का कारण रोकिएको हो । यद्यपि वार्ता बिहीबार बिहान पुनः सुरु हुने अपेक्षा गरिएको थियो ।
दक्षिणी लेबनानको मन्सुरी गाउँका बासिन्दालाई इजरायली सेनाले क्षेत्र खाली गर्न आदेश दिएको थियो । त्यसपछि इजरायली सेनाले युद्धविरामको ‘पूर्ण उल्लंघन’ भएको दाबी गर्दै हिजबुल्लाहका लक्ष्यमाथि ‘सटीक आक्रमण’ सुरु गरेको जनाएको छ ।
यसरी एकातिर होर्मुज खोल्ने विषयमा इरान र ओमानबीच कूटनीतिक प्रयास तीव्र भइरहेका छन् भने अर्कोतिर इरान–अमेरिका सम्बन्ध, हुथी आक्रमण तथा इजरायल–लेबनान तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिको भविष्य अझै अनिश्चित बनाइरहेको छ ।






















