प्रबास

जापानमा अत्यधिक गर्मीका कारण चिडियाखानका तीन सिंहको मृत्यु

एजेन्सी
२०८३ साउन १९ | मध्यान्ह ०३:०४ बजे

टोकियो । जापानमा अत्यधिक गर्मी बढिरहेका बेला टोकियोस्थित चिडियाखानामा तीन पोथी सिंह (सिंहिनी)को गर्मीका कारण मृत्यु भएको छ। पश्चिमी टोकियोस्थित तामा जुलोजिकल पार्कमा एक साताभित्र ३ देखि १५ वर्ष उमेरका तीन सिंहिनी मरेका हुन्।

चिडियाखानाका अनुसार पोस्टमार्टममा तीनै सिंहिनीमा शरीरमा पानीको अत्यधिक कमी र धेरै अङ्गले काम गर्न छाडेको देखिएको छ, जसले अत्यधिक गर्मीलाई मृत्युको सम्भावित कारण देखाएको छ। तीमध्ये तीन वर्षीया सिंहिनी मुगीले जुलाई १९ मा खाना खान छाडेकी थिइन् र भोलिपल्ट उभिन नसक्ने भएकी थिइन्।

उसलाई पानी, भेन्टिलेसन, औषधि तथा भिटामिन दिएर उपचार गरिए पनि जुलाई २८ मा मृत्यु भयो। त्यसैगरि, ११ वर्षीया इचिगोको जुलाई ३१ मा र १५ वर्षीया लुएनाको आइतबार मृत्यु भएको हो।

चिडियाखानाका अनुसार अझै तीन सिंह बिरामी छन् र उभिनसमेत सकिरहेका छैनन्। उनीहरूलाई तरल पदार्थ, औषधि र भिटामिन दिइरहेको जनाइएको छ। केही सिंहको अवस्थामा सुधार आएको छ।

टोकियो विश्वविद्यालयका पशु चिकित्सा प्राध्यापक हिदेआकी कराकीका अनुसार उच्च आर्द्रताका कारण सिंहलाई शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुन्छ। सिंह मानिसजस्तो पसिना निकालेर होइन, गहिरो सास फेरेर शरीरको तापक्रम घटाउने गर्छन्। तर अत्यधिक आर्द्रतामा शरीरबाट निस्किएको चिस्यान पर्याप्त रूपमा वाष्पीकरण हुन नसक्दा शरीरको तापक्रम घट्न सक्दैन।

जापानमा यस वर्ष गर्मी अत्यन्त तीव्र बनेको छ। केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेका दिनलाई ‘अत्यन्त घातक गर्मीका दिन’ भन्दै चेतावनी जारी गरिएको छ। यस गर्मीयाममा जापानभर ४३ हजारभन्दा बढी मानिसलाई गर्मीका कारण अस्पताल भर्ना गरिएको छ।

गर्मीका कारण सिंहहरू बिरामी परेपछि तामा जुलोजिकल पार्कले गत महिना सिंह प्रदर्शनी र सिंह हेर्न प्रयोग हुने बस सेवा पनि अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो।

कमेन्टहरु