९ अगस्ट ३२ औं विश्व आदीवासी दिवस, बुटवलमा जनप्रदर्शन हुने


बुटवल, साउन १८। नेपालका आदीवासी जनजातीहरुले “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने नारा सहित यही साउन २४ गते ३२ औं विश्व आदीवासी जनजाती दिवस देशभर विविध कार्यक्रम सहित मनाउदै छन।
यसैक्रममा नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीले बृहत जनप्रर्दशन सहित बुटवलमा ३२ औं आदीवासी दिवस मनाउने भएको छ। बुटवलमा हुने उक्त आदीवासी जनजातीहरुको जनप्रदर्शनमा रुपन्देहीका करिब ५० हजार भन्दाबढी आदीवासी, जनजाती, अधिकारर्मी र सरोकारवालाहरुको सहभागिता हुने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीले साउन २२ गते जिल्लाका १६ वटै स्थानीय तहहरुमा अन्तरकृया गोष्ठी तथा विभिन्न दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्ने छ। नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद स्थानीय गाउँ तथा नगर समितिकोहरुको समन्वय र आयोजनामा हुने स्थानीय तह स्तरको कार्यक्रमहरुमा जिल्ला समन्वय परिषदका पदाधिकारीहरुले वक्ताको रुपमा सहभागिता जनाउने नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका सचिव मिन बहादुर सारुले जानकारी दिनु भएको छ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघ को महासभाले प्रत्येक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी जनजाति दिवस मनाउने घोषणा गरेको थियो। यो मिति सन् १९८२ मा आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यसमूहको पहिलो बैठक बसेको दिनको स्मरणमा विश्वभरका आदीवासी जनजातीहरुले अगस्ट ९ लाई आन्दोलन, अधिकारको आवाज, सांस्कृतिक संरक्षण र पहिचानको प्रतीकका रूपमा लिने गर्दछन।
पछिल्लो समय सरकारले आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानको खारेज गरेपछि देशभरका आदीवासी जनजातीहरु आन्दोलित भइरहेको सन्दर्भमा अगस्ट ९ अर्थात साउन २४ लाई प्रतिस्ठान खारेजको विरुद्ध बिशेष आन्दोलनको रुपमा शक्ती प्रदर्शन गर्ने तयारी गरेको नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष आशा तमुले जानकारी दिनु भएको छ।
आदीवासी जनजातीहरुले बिशेषगरी पहिचान र अस्तित्वको रक्षा, भूमि र प्राकृतिक स्रोतको अधिकार, समान अधिकार र सामाजिक न्याय, भेदभाव र विभेदको अन्त्य र आत्मनिर्णयको अधिकारलाई मुख्य आन्दोलनको नारा लिएर हरेक वर्ष यो दिवस मनाउदै आएका छन।
साउन २४ गते बिहान ११ बजे बुटवलको चौर।स्थित प्रथम शहिद लखन थापा मगर चोक देखि विविध जातीय पोशाक सहितको सांस्कृति झांकी र र्याली सहित हुने जनप्रदर्शनलाई सम्बोधन गर्न आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठानका निवर्तमान अध्यक्ष रेशम बहादुर गुरुङ्ग मुख्य वक्ताको रुपमा आउने आयोजकले जनाएको छ।
अगस्ट ९ आदिवासी जनजातिहरूका लागि केवल उत्सवको दिन मात्र नभई पहिचान, अधिकार, समानता, आत्मनिर्णय र सामाजिक न्यायको पक्षमा ऐक्यबद्ध भएर आवाज उठाउने आन्दोलनको दिन भएकोले विश्वभरका आदिवासी समुदायले यस दिनलाई सांस्कृतिक उत्सवसँगै अधिकारमुखी अभियानका रूपमा मनाउँदै आएको महासंघका रुपन्देही अध्यक्ष आशा तमुले बताउनु भएको छ।
रुपन्देहीका १६ वटै स्थानीय तहबाट करिब ३० हजार भन्दा बढी आदीवासी जनजातीहरु सहभागी जनाउने उक्त जनप्रदर्शन ट्राफिक चौकमा पुगेर कोण सभामा परिणत हुने र उक्त कार्यक्रमलाई आन्दोलनको रुपमा सफल बनाउन महासंघका सचिव मिन सारुले विभिन्न जातीय संगठन, पेशाकर्मी, राजनैतिक दल, बुद्धीजीवि, अधिकारकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुलाई सहभागिताका लागि आग्रह गर्नु भएको छ।
कार्यक्रममा साउन २४ गते (अगस्ट ९) बुटवल जाऔं, ३२औं विश्व आदीवासी जनजाती दिवसलाई अधिकारको आन्दोलनको रुपमा मनाऔं । ३२ औं विश्व आदीवासी दिवस जिन्दावाद, प्रतिस्ठान खारेज गर्न पाइदैन, संघियथा खारेज गर्न पाइदैन, प्राप्त उपलब्धीहरु मास्न पाइदैन, धर्मनिरपेक्षलाई ब्यबहारमा लागु गर, ३२ औं विश्व आदीवासी दिवसलाई भव्य रुपमा सफल बनाऔं लगायत अधिकार र पहिचानका नारासहितको प्लेकार्डहरु समेत प्रदर्शन हुने आयोजकले जनाएको छ।






















