अर्थ

किन घट्दै छ सुनको मूल्य ?

एजेन्सी
२०८३ जेष्ठ ३१ | बिहान ११:०२ बजे

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध युद्ध सुरु गरेयता फेरि सुनको मूल्य दबाबमा परेको छ । खासमा विश्वव्यापी संकटका समयमा लगानीकर्ताहरूले मुद्रास्फीतिविरुद्ध आफू सुरक्षित रहन सुनमाथि लगानी गर्ने भएकाले यसको मूल्य तीव्र रूपमा बढ्ने गर्छ । तर, यसपटक अवस्था त्यस्तो भएको छैन ।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानमाथि आक्रमण गरी महिनौँ लामो युद्ध सुरु गरेयता सुनको मूल्य समेत दबाबमा परेको छ । जनवरी २८ मा प्रतिट्रोय औँस (३१.१ ग्राम) ५,३०३ डलरसम्म पुगेको मूल्य शुक्रबार ४,२३५ डलरमा झरेको छ ।

यसको कारण तीव्र मुद्रास्फीतिले केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम भएको भन्ने चिन्ता बढाएको हो । मूल्यवृद्धिलाई नियन्त्रण गर्न उनीहरूले ब्याजदर अझ बढाउन पनि सक्छन् ।

मुद्रास्फीति बढ्नुको मुख्य कारणमध्ये एक हो हर्मुज जलडमरू । अमेरिका र इजरायलविरुद्ध प्रतिशोधस्वरूप इरानले युद्ध सुरु भएदेखि यस जलमार्ग हुँदै हुने आवतजावत अवरुद्ध गर्दै आएको छ । यसले गर्दा तेल र ग्यास ढुवानीको प्रमुख मार्गमा असर पुर्याएको छ । त्यसको प्रतिक्रिया स्वरूप ऊर्जा मूल्य तीव्र रूपमा बढेको छ, जसले थप मुद्रास्फीति निम्त्याएको छ ।

अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च ४.२ प्रतिशतमा पुगेको छ । त्यही समयमा रोजगारी बजार स्थिर रहेकाले ब्याजदर तत्काल घट्ने अपेक्षा कमजोर भएको छ ।

सुनलाई लगानीकर्ताहरूले मुद्रास्फीतिविरुद्धको सुरक्षा कवचका रूपमा हेरे पनि उच्च ब्याजदरले भने यसको मूल्यमा दबाब पार्ने गर्छ । आखिर सुनलाई ‘प्रतिफल नदिने’ सम्पत्ति मानिन्छ, किनभने यसले आफ्नो मूल्यबाहेक कुनै अतिरिक्त आम्दानी उत्पन्न गर्दैन । अर्थात् सुनबाट नाफा कमाउन यसको मूल्य बढ्नैपर्छ ।

वित्तीय वेबसाइट अप्सनस्प्रेडर्स डटकमका प्रमुख विश्लेषक जस्टिन कार्डवेलले अल जजिरासँग भने, ‘सम्पत्तिका हिसाबले हेर्दा सुन वास्तविक मुद्रासँग सबैभन्दा नजिकको वस्तु हो । यसले लाभांश दिँदैन, र मूल्य नबढेसम्म कुनै प्रतिफल पनि दिँदैन । मानिसहरूले यसको मूल्यवृद्धिको आशामा सुन किन्छन् ।’

यसले ब्याजदरलाई सुनको प्रत्यक्ष प्रतिस्पर्धी बनाउँछ ।कार्डवेलले थपे, ‘यदि ब्याजदर उच्च छ र मानिसहरू डलरतर्फ आकर्षित भइरहेका छन् भने लगानीका रूपमा सुनको महत्त्व घट्छ ।’इरानसँगको द्वन्द्वले अमेरिकी डलरलाई बलियो बनाएको छ, र सुनको मूल्य डलरमा निर्धारण हुने भएकाले यी दुई सामान्यतया विपरीत दिशामा चल्छन् ।

नोबल गोल्ड इन्भेस्टमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत कोलिन प्लुम भन्छन्, ‘डलर बलियो हुँदा सुन दबाबमा पर्छ, डलर कमजोर हुँदा सुन सामान्यतया उकालो लाग्छ । अहिले डलर बलियो छ र सुनले त्यसको असर भोगिरहेको छ ।’

तर प्लुमका अनुसार दुवैको भविष्य अनिश्चित छ ।उनले भने, ‘यस वर्षको बाँकी समय र सम्भवतः आगामी केही वर्षसम्मको सबैभन्दा ठूलो प्रश्न भनेको अब के हुन्छ भन्ने हो ।’

‘केही महिनाअघि ‘अब के हुन्छ’ भन्ने प्रश्नको उत्तर ब्याजदर कटौती थियो । त्यसैले मूल्यहरू बढिरहेका थिए र सम्पत्तिहरूको मूल्य सर्वत्र उकालो लागिरहेको थियो । अहिले अवस्था बदलिएको छ । अब हामी ब्याजदर बढ्न सक्ने वास्तविक सम्भावनासहितका चुनौतीहरूको सामना गरिरहेका छौँ । त्यसको असर सबै सम्पत्तिमा पर्छ, र सुनको मूल्य विशेषतः ब्याजदरप्रति भरपर्ने गर्छ ।’

इरानविरुद्धको युद्ध सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर उल्लेखनीय रूपमा घटाउन दबाब दिएका थिए । तर केहि तथ्याङ्कले डिसेम्बरसम्म ब्याजदर बढ्ने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको देखाएका छन् । प्लुमका अनुसार यसले सुनको मूल्यलाई असर पार्ने सम्भावना छ ।

उनले भने, ‘ब्याजदर र मुद्रास्फीति दुई विपरीत पक्ष हुन्, र सुन त्यसको ठीक बिचमा बस्छ । २०२६ को विशेषता के हो भने दुवै कुरा एकैपटक भइरहेका छन् । र, अहिले ब्याजदरको पक्ष बलियो देखिएको छ । त्यसैले सुनले प्रतिकूल परिस्थितिको सामना गरिरहेको छ ।’

शुक्रबार अमेरिका र इरानबिच सम्भावित सम्झौताको खबर सार्वजनिक भएपछि सुनको मूल्य अघिल्लो दिनको तुलनामा थोरै बढेर रोकिएको थियो ।कार्डवेलले भने, ‘युद्ध अन्त्यतिर पुग्न सक्ने सम्भावनाका समाचारहरू सुनका लागि सकारात्मक हुन्छन्, किनभने त्यसले मुद्रास्फीति घट्ने अपेक्षा बढाउँछ ।’

तर त्यो प्रक्रिया पूरा हुन अझै केही महिना लाग्न सक्छ । ‘युद्ध अन्त्य भए पनि सुनको मूल्यलाई सीमित राख्ने अन्य धेरै कारकहरू अझै रहनेछन्’ कार्डवेल भन्छन् ।

कमेन्टहरु