स्वास्थ मापदण्ड पालना गरि सिरहाका संस्थागत बिधालय संचालनमा


सिरहा । लहान लगायत जिल्लाका सम्पुर्ण निजी तथा संस्थागत विद्यालयहरु आज बिहिबारदेखि संचालनमा आएका छन् ।
स्वास्थ मापदण्डको पालना गरी हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन हुने जानकारी एक पत्रकार सम्मेलनमार्फत गराईएको हो । लामो समयदेखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको शैक्षिक र मानसिक स्तर तल झर्दै गएको भन्दै विद्यालय खोल्नुको विकल्प नरहेको वक्ताहरूले बताए ।
प्रत्यक्ष रुपमा पठनपाठन रोकिनाले बालबालिकामा नकारात्मक प्रभाव परेको र अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा मेरि चिल्ड्रेन स्कुल लहानका प्रधानाध्यापक पाण्डव हमाल ठकुरीले बताए ।
हमालले भने ‘पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो´। कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरि विद्यालय संचालन गर्ने कार्यक्रम आयोजकले बताए ।

भदौ ९ गते बुधबार लहानस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराईएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवश्यक भएको सो विज्ञप्तीमा जनाइएको छ ।
उनले ७७ औं जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको जानकारी गराए ।
उता प्याब्सनका प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहले लामो बन्दका कारण बाल मनोविज्ञानमा घातक असर पर्न थालेको बताएका छन । साहले भर्चुअल कक्षा सिराहाको लागि खासै प्रभावकारी नभएको जिकिर गरे।






















