समाज

दिल्लीमा रास्वपाका सभापति लामिछानेलाई भव्य स्वागत

नवलपुर टुडे
२०८३ जेष्ठ १९ | मध्यान्ह ०२:०२ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई भाजपा केन्द्रीय कार्यालयमा विशेष स्वागत गरिएको हो।

सभापति लामिछाने भाजपा मुख्यालय पुग्दा त्यहाँ परम्परागत सांस्कृतिक झाँकी, बाजागाजा र फूलमालासहित भाजपाका वरिष्ठ नेताहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नविनसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। भेटका क्रममा भाजपा नेताहरूले लामिछानेलाई आफ्नो दलीय संरचना, कार्यप्रणाली र मुख्यालयको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारी गराएका थिए।

आपसी भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य, दलगत अनुभव आदानप्रदान, राजनीतिक सम्बन्ध र आपसी हित सुदृढीकरणका विविध विषयमा फलदायी छलफल भएको रास्वपा सचिवालयले जनाएको छ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आफ्नो मुख्यालयमा निमन्त्रणा गर्ने भाजपाको नीति अनुरूप लामिछानेको यो भ्रमण भएको हो।

यसअघि तीन वर्षपहिले तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भाजपाको निमन्त्रणामा दिल्ली भ्रमणमा गएका थिए। सो समयमा सत्ता साझेदार दलको अध्यक्षका रूपमा रहेका प्रचण्डलाई स्वागत गर्न भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले पुगेका थिए । तर सभापति लामिछानेलको स्वागतमा चौथाईवालेसँगै भाजपाका पहिलो वरीयताका राष्ट्रिय महासचिव अरुण सिंह दिल्लीस्थित विमानस्थलमै पुगेका थिए। लामिछानेको यस भ्रमणलाई पनि भाजपाले उत्तिकै महत्त्व दिएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

कमेन्टहरु