किसानको उत्पादनलाई बजारसँग जोड्न पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको पहल


जेठ १८ गते ,सर्लाही । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले किसानको उत्पादनलाई सहज बजार उपलब्ध गराउने उद्देश्यले सर्लाहीको धनकौलस्थित आफ्नै निवासमा कृषि विज्ञहरू तथा आरजु राइस मिलको संयुक्त टोलीसँग महत्वपूर्ण छलफल गर्नुभएको छ।
धान खेतीलाई किसानका लागि थप लाभदायी तथा नगदे बालीका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजित उक्त छलफलमा धान उत्पादनको बजारीकरण, उचित मूल्य सुनिश्चितता, किसानमैत्री खरिद प्रणाली तथा स्थानीय स्तरमै धान खरिद केन्द्र स्थापना गर्ने विषयमा विस्तृत रूपमा विचार विमर्श गरिएको थियो।
छलफलमा सहभागी किसानहरूले उत्पादनपछि बजारको अभाव, बिचौलियाको प्रभाव तथा उचित मूल्य नपाउने समस्याबारे आफ्ना धारणा राखेका थिए। त्यस अवसरमा आरजु राइस मिलका प्रतिनिधिहरूले किसानको उत्पादनलाई प्रत्यक्ष रूपमा खरिद गर्न सकिने वातावरण निर्माणका लागि धनकौल क्षेत्रमा मिलको शाखा कार्यालय वा धान खरिद केन्द्र स्थापना गर्ने सम्भावनाबारे सकारात्मक छलफल भएको बताएका छन्।
पूर्व मन्त्री सिंहले कृषि क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै किसानको पसिना र मेहनतको उचित मूल्य सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले किसानले उत्पादन गरेको धान सहज रूपमा बिक्री गर्न सक्ने वातावरण निर्माण भएमा कृषि क्षेत्रप्रति आकर्षण बढ्नुका साथै ग्रामीण अर्थतन्त्र समेत मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले किसान, कृषि विज्ञ तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक पहल जारी रहने प्रतिबद्धता समेत जनाउनुभयो।
नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठी ले किसानको उत्पादनलाई बजारसँग प्रत्यक्ष जोड्ने तथा कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त छलफल आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा किसानको हितलाई केन्द्रमा राखेर यस्ता पहलहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।






















