बिश्व

अमेरिका–इरानबिच आक्रमणले तेल बजारमा त्रास, बढ्यो कच्चा तेलको भाउ

एजेन्सी
२०८३ जेष्ठ १८ | मध्यान्ह ०१:०२ बजे

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानबीच फेरि आक्रमण–प्रत्याक्रमण भएपछि तेल बजारमा दबाब देखिएको हो ।इजरायलले इरान समर्थित हिज्बुल्लाहविरुद्धको युद्धमा आफ्ना सैनिकहरूलाई लेबनानभित्र अझ अगाडि बढ्न आदेश दिनुले पनि तेल बजारमा त्रास बढ्दा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।

ग्रिनविच समयअनुसार बिहान ४ः३६ बजे कच्चा तेलेको अमेरिकी बेञ्चमार्क डब्लुटीआई मूल्य प्रति ब्यारेल २ डलर २९ सेन्ट (२ दशमलव ६२ प्रतिशत)ले बढेर ८९ डलर ६५ सेन्टमा पुगेको थियो । उता, कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि २ डलर शून्य ५ सेन्ट अर्थात् २ दशमलव २५ प्रतिशतले बढेर प्रतिब्यारे ९३ डलर १७ सेन्टमा पुगेको थियो ।

गत शुक्रबार अमेरिकाले वासिङ्टनमा इजरायल–लेबनान शान्ति वार्ताको आयोजना गरेको केही समयपछि नै युद्धको अवस्था थप चर्किएपछि अमेरिका र इरानबीचको युद्धविराम सम्झौता विस्तार हुने अपेक्षामा कमी आएको छ । युद्धविराम विस्तार हुने आशाले शुक्रबार ब्रेन्ट र डब्लुटीआईको भाउ क्रमशः १ दशमलव ८ प्रतिशत र  १ दशमलव ७ प्रतिशतले घटेको थियो ।

अमेरिकाले आइतबार इरानको गोरुक क्षेत्र तथा केश्म टापुमा रहेका राडार तथा ड्रोन नियन्त्रण केन्द्रहरूमा आत्मरक्षात्मक आक्रमण गरेको जनाएको थियो । अमेरिकाका अनुसार ती आक्रमणहरू तेहरानका आक्रामक गतिविधिहरूको जवाफस्वरूप गरिएका थिए । 

जवाफमा इरानको इस्लामिक क्रान्तिकारी गार्ड कप्र्स (आईआरजीसी)ले सोमबार आफ्नो एरोस्पेस फौजले अमेरिकी सैन्य कारबाहीका लागि प्रयोग गरिएको एउटा हवाई अड्डालाई निशाना बनाएको दाबी गरेको छ । आईआरजीसीका अनुसार उक्त अमेरिकी आक्रमण इरानको सिरिक टापुमा रहेको दूरसञ्चार टावरविरुद्ध गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार अप्रिलको सुरुआतमा भएको युद्धविरामलाई थप समयका लागि विस्तार गर्ने प्रस्तावित सम्झौताबारे छिट्टै निर्णय गर्ने बताएका थिए । 

यस सम्झौताले वार्ताकारहरूलाई द्वन्द्वको स्थायी समाधान खोज्न तथा इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मूल विवाद समाधानका लागि थप समय उपलब्ध गराउने अपेक्षा गरिएको थियो ।

तर यस्तो कुनै पनि सम्झौतामा इजरायलको महत्वपूर्ण भूमिका रहनेछ । इरानले पनि बारम्बार हिज्बुल्लाहलाई वार्ताको प्रक्रियामा समावेश गर्नुपर्ने बताउँदै आएको छ । एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले क्रमिक तनाव न्यूनीकरण योजना प्रस्ताव गरेको छ । यस योजनाअनुसार हिज्बुल्लाहले सर्वप्रथम इजरायलमाथिका आक्रमण रोक्नु पर्नेछ । त्यसको बदलामा इजरायलले बेरुतमा सैन्य गतिविधि थप बढाउने छैन ।

बजार विश्लेषक टोनी सिकामोरका अनुसार विश्व ऊर्जा बजार अहिले स्टे«ट अफ होर्मुजमा बिछ्याइएका बारुदी सुरुङ (माइन)हरूलाई लिएर चिन्तित छ । स्टे«ट अफ होर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हो । सिकामोरले भने, ‘सम्झौता भए पनि बजारमा तेल आपूर्तिको ठूलो बाढी आउने छैन ।’ उनका अनुसार स्टे«ट पुनः सञ्चालन भए पनि पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ ।

गत शुक्रबार समाचार संस्था एक्सियोसका एक पत्रकारले सामाजिक सञ्जाल एक्समा इरानले उक्त जलडमरूमध्यमा थप बारुदी सुरुङहरू राखेको जानकारी दिएका थिए । 

यसअघि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले थप माइन बिछ्याउने प्रयास युद्धविरामको उल्लङ्घन हुने चेतावनी दिएका थिए । स्ट्रेट अफ होर्मुजमार्फत विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले प्रभावकारी रूपमा यो जलमार्ग बन्द गरेको छ । 

कमेन्टहरु